विराटनगर । विराटनगरमा भोलीदेखि सुरू हुने १० औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको प्रचारका लागि आज विराटनगरमा मोटरसाइकल र्याली निकालिएको छ ।
नेपाल अग्रवाल युवा मञ्च विराटनगरको आयोजनामा मारवाडी सेवा सदनबाट विशाल संख्यामा निस्केको मोटरसाइकल र्याली नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गर्दै क्रिकेट प्रतियोगिता आयोजना स्थल विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुगेर समापन भएको थियो ।
विराटनगर वासीलाई मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हेर्न आउने निम्तो दिने उद्देश्यका साथ मोटरसाइकल र्याली निकालिएको मञ्चका अध्यक्ष अभिषेक केडियाले जानकारी दिए ।
विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले मोटरसाइकल र्यालीको शुभारम्भ गरेकी थिइन् । बुधबार रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शनिबारसम्म चल्ने प्रतियोगितामा ५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले नगद ६१ हजार र उपविजेताले नगद २१ हजार सहित शिल्ड प्राप्त गर्नेछन् ।