Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दिगो र फराकिलो आर्थिक वृद्धिबिना समुन्नत प्रदेश बन्दैन : राजेन्द्र राउत



विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले दिगो र फराकिलो आर्थिक वृद्धि एवम् पर्याप्त र गुणस्तरीय रोजगारी सिर्जना नगरी समुन्नत प्रदेश निर्माण नहुने बताएका छन् ।

महासङ्घको छैटौँ प्रदेशसभामा उद्योगी व्यवसायीलाई स्वागत गर्दै राउतले औद्योगिक क्षेत्रको धारणा सार्वजनिक गरेका हुन् । निजी क्षेत्रको लगानी विस्तार र लगानीकर्ताको लागि लगानीको सुरक्षा प्रदान गर्दै उत्प्रेरित गर्ने नीतिलाई प्रदेश सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

प्रदेशसँग गर्न सकिने सहकार्यका क्षेत्रहरूमा सहकार्य गर्दै अगाडि बढ्नका लागि निजी क्षेत्र सकारात्मक रहेको उनको भनाइ छ । सबै क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा प्रचार गर्ने सस्तो लोकप्रियतावादी सोचबाट मुक्त भई गुणस्तरीय र पूर्वाधारले युक्त पर्यटन क्षेत्र बनाएर समृद्धिका लागि अगाडि बढ्न सकिने राउतको धारणा छ ।

प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गर्दै गर्दा निजी क्षेत्रबाट लगानीको अपेक्षा गरिएका क्षेत्र, उपक्षेत्र, वस्तु सेवाका विषयमा स्पष्ट धारणा ल्याउनुपर्ने, प्रदेश लगानी प्राधिकरणमा निजी क्षेत्रकोसमेत सहभागिता सुनिश्चित गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

पूर्वाधार विकास तय गर्दा कच्चा पदार्थ उत्पादन, प्रशोधित वस्तुको बजारीकरण र कृषि क्षेत्रको प्रवर्धनमा समेत ध्यान दिन राउतले आग्रह गरे ।

उनले सङ्घीय सरकारले पनि लगानीमैत्री वातावरण बनाउनुपर्ने, उद्योगी व्यवसायीलाई भयरहित वातावराण्मा काम गर्ने अवस्था सिर्जना गर्नुपर्ने, ऐन कानुनहरू बनाउँदा व्यवसायीहरूलाई समेत समेट्न जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार