विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । मुख्यमन्त्री बनेको साढे तीन महिनापछि मुख्यमन्त्री कार्कीले आज चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् ।
मुख्यमन्त्री कार्कीका अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई/दुई जना मन्त्री बन्दैछन् । यस्तै कांग्रेसबाट एक जनालाई राज्यमन्त्री बनाइने भएको छ ।
कार्कीले यसअघि नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक÷एक जनालाई मन्त्री बनाएका थिए । मुख्यमन्त्री बनेको केही समयपछि कार्कीले कांग्रेसका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माओवादीका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरणमन्त्री र नेकपा एसका कमल बजबेगुलाई भौतिक पूर्वाधारमन्त्री बनाएका थिए ।
अब विस्तार हुने मन्त्रिपरिषद्मा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री बन्ने भएका छन् । सनुवारलाई स्वास्थ्य र खत्रीलाई कृषि, सहकारी मन्त्रालय दिने तयारी छ । यस्तै कांग्रेसकी इन्दिरा थापा स्वास्थ्य राज्यमन्त्री बन्ने बुझिएको छ ।
यस्तै माओवादीबाट संखुवासभाका राजेन्द्र कार्की र उदयपुरका नारायण बुर्जामगर मन्त्री बन्ने भएका छन् । कार्की सामाजिक विकास र मगर खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री बन्ने भएका हुन् ।
उनीहरुको आजै शपथ हुने मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।