विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशकै सबैभन्दा ठूलो कोशी अस्पतालमा भइरहेको बेतिथि रोक्न माग गरेको छ ।
बिहीबार नेकपा एस विराटनगर महानगर कमिटीले अस्पताललाई ज्ञापनपत्र बुझाउँदै अस्पताल विकास समितिका कारण बेतिथिको चाङ बढ्दै गएकाले सुधार गरेर अघि बढ्न चेतावनी दिएको हो ।
‘आसेपासेलाई जागिर खुवाउने मनसायले स्वीकृत दरबन्दी गुपचुप राखेर हालै सूचना आव्हान गरिएको छ । यसको उद्देश्य भनेको आफ्ना र आसेपासेलाई कर्मचारीमा नियुक्ति गर्नु नै हो भन्ने हाम्रो ठहर हो ।’ पत्रमा भनिएको छ ।
अस्पताल विकास समितिले काम गर्न नसकेको बताउँदै नेकपा एसले अस्पताल आफ्नो दायित्व बिर्सेर दलगत स्वार्थ पुरा गर्न लागि परेको आरोप लगाएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘अस्पताल प्रशासन समेत जता जता विकास समिति त्यता त्यता कुदेको देखिन्छ । यसका पछिल्ला उदाहरण केही कर्मचारीहरू नियुक्ति विना सूचना विना प्रतिस्पर्धा गरिएको छ । सरकारी अस्पतालमा पदपूर्ति गर्दा सरकारकै मापदण्ड विपरीत गर्नु कतिको जायज हो ? यसको जबाफ जनताले खोजी रहेका छन् । कर्मचारी नियुक्तिमा मात्रै होइन, हरेक बेथिति यस अस्पतालमा देखिएको छ । अस्पताल भित्र प्रवेश गर्दा नाक थुन्नु पर्छ सरसफाइ गर्ने जिम्मा कसको हो ? अस्पतालमा स्वास्थ्यकर्मी समेत समय सम्म नबस्दा बिरामीले दुख पाइरहेका छन् ।’
अस्पतालमा भएका स्वास्थ्य उपकरणको सही रूपमा सदुपयोग हुन नसकेका कारण निम्न स्तरका नागरिकले उपचार पाउनबाट वञ्चित हुनुपरेको नेकपा एस विराटनगरका अध्यक्ष वीरेन्द्र यादवले बताए ।
अस्पतालको बेथिति विरुद्ध अख्तियार अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान सुरु गरिरहेको बताउँदै छिटो अनुसन्धान गरी सत्य तथ्य अनुसन्धान गर्न समेत पार्टीले अनुरोध गरेको छ ।
अस्पतालमा देखिएकोे बेथिति नरोकिए पार्टीले ठोस कदम चाल्न बाध्य हुने पत्रमा उल्लेख गरिएको छ ।