विराटनगर : कोशी प्रदेश सरकारले पूर्णता पाउने भएको छ । मुख्यमन्त्री बनेको साढे तीन महिनापछि मुख्यमन्त्री केदार कार्कीले सरकारलाई पूर्णता दिन लागेका हुन् ।
असोज २७ गते नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले यसअघि तीन जनालाई मात्रै मन्त्री बनाएका थिए । उनले बाँकी मन्त्रालय आफैसँग राखेका थिए ।
तर, गठबन्धनको दबाबमा कार्कीले मन्त्री थप गर्न लागेका हुन् । कार्की निकट स्रोतका अनुसार उनले नेपाली कांग्रेसबाट दुई जना र सत्ता साझेदार नेकपा माओवादीबाट दुई जनालाई मन्त्री बनाउन लागेका हुन् ।
कार्कीले यसअघि नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक÷एक जनालाई मन्त्री बनाएका थिए । मुख्यमन्त्री बनेको केही समयपछि कार्कीले कांग्रेसका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माओवादीका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरणमन्त्री र नेकपा एसका कमल बजबेगुलाई भौतिक पूर्वाधारमन्त्री बनाएका थिए ।
अब विस्तार हुने मन्त्रिपरिषद्मा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री बन्ने भएका छन् । सुनुवार शेरबहादुर देउवा समूह र खत्री शेखर कोइराला समूहका हुन् ।
यस्तै माओवादीबाट संखुवासभाका राजेन्द्र कार्की र उदयपुरका नारायण बुर्जामगर मन्त्री बन्ने भएका छन् । कार्की यसअघि उद्धव थापा नेतृत्वको सरकारमा विना विभागीय मन्त्री थिए ।
यता, मुख्यमन्त्रीलाई विद्रोह गर्दा साथ दिएकी इन्दिरा थापाले पनि आफूलाई मन्त्री बनाउनुपर्ने अडान राख्दै आएकी छन् । स्रोतका अनुसार उनलाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ ।