गत माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन भयो । सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन एकातिर र अर्कोतिर नेकपा एमालेको गठबन्धनसहित चुनावी भिडन्त भयो । राजनीतिक रूपमा खारिएका, वैचारिक रूपमा स्पष्ट र देश बनाउने भिजन बोकेकाहरू चुनावमा मतदाता थिए । यस हिसाबले यो चुनावको नतिजा तलमाथि नहुने पक्का थियो । तर,भयो फेरबदल । यसको परिणाम गठबन्धनबाट कोशीमा नेकपा माओवादी केन्द्रकी उम्मेदवारले जित्नुपर्नेमा एमालेको उम्मेदवारले जितिन । खासमा एमालेका लागि यो उपलब्धि भयो । तर, सारा निष्ठा र दलीय अनुशासनको यो व्यवस्थालाई भने निर्वाचन परिणामले राम्रो सङ्केत दिन सकेन ।
किनकि एउटा निश्चित तह पार गरेका जनप्रतिनिधिबाट मत तलमाथि हुनु भनेको ठुलो घटना हो । यसरी निर्वाचनमा हारजित हुन थाल्यो भने दलीय व्यवस्थाप्रति बढ्दै गरेको निराशालाई थप बल पुर्याउँछ । हुन त यो प्रदेशमा यसअघि पनि निर्वाचनमा परिणाम फरक आएकै थियो । यस्तो परिणाम गर्दागर्दै यसले राजनीतिक दलहरूको निष्ठामा ग्रहण लागेको सङ्केत मान्न सकिन्छ । यसले अहिले नै कुनै असर नगरे पनि भविष्यमा नतिजा व्यवस्थाप्रतिको वितृष्णा र प्रश्नमा टुङ्गिन्छ ।
हुन त जनतालाई झुटा आश्वासन र दारु र पैसा खर्च गरेर आएका जनप्रतिनिधिहरूले सिक्ने त्यही बेस हो । र उनीहरूले आफ्नो मतलाई किनबेच गर्ने कुरा सामान्य मान्दा पनि हुने हो । तर, सांसद जस्तो मानिस नै दलिय अनुशासनमा नगएर खरिद बिक्री हुनु भनेको दुर्भाग्य हो ।
कोशी प्रदेशमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलहरूको नेताका अनौपचारिक संवादहरूलाई पत्याउने हो भने करिब १० जना सांसदहरूको मत तलमाथि भएको छ । एमालेबाट पनि क्रम भएको छ भने काँग्रेस र अन्य पार्टीबाट पनि । यसले के देखाउँछ भने सबै दलमा अनुशासनहीनता र आर्थिक लोभ लालच बढेको छ ।
यसको हल्ला प्रदेशमा सरकार गठन गर्ने ताकादेखि नै नचलेको होइन । तर, कतिपय दलहरूका एप्रोजहरुले यसलाई पुष्टि गर्छ । खुल्लमखुल्ला मतदान गर्नुपर्ने भएकाले प्रदेशमा देखिने गरी सरकार बनाउँदा सांसद खरिद बिक्री हुन सकेन । तर, राष्ट्रिय सभामा आउँदा यो सबै काम भयो ।
पार्टीका नेताहरू खुल्ला खुल्ला जस्तै मोलमोलाइमा लागे । लाग्छ, कोशी प्रदेशमा एक हुल भेडाहरू छन्, तीनको मोलमोलाइ भइरहन्छ । यो गम्भीर परिस्थितिको समीक्षा हुनु जरुरी छ । कतिपय गठबन्धनहरू पनि सान्दर्भिक नहुँदाको परिणाम हो । कोशीमा २०७४ देखिको समीकरण हेर्दा नेकपा माओवादी सबैभन्दा घाटामा देखिन्छ । यस प्रदेशमा ०७४ मा राम्रो उपस्थिति देखाएको माओवादी ०७९ को समीकरण बदलिँदा उसलाई समग्रमा घाटा देखिएको छ । यसले के सङ्केत गर्छ भने विचार मिल्नेहरूको एकताचाहिँ सार्थक एकता हुँदो रहेछ । त्यसैले यस्ता एकतातिरको बहस पनि कुनै न कुनै कोणमा कोशी प्रदेशमा चल्न थालेको छ ।
राजनीतिक निष्ठामा लागेको ग्रहणलाई मेटाउने हो भने कुनै न कुनै रूपमा विचार मिल्नेहरूकै एकता हुनु जरुरी छ । यसतर्फ एउटा फड्को मार्न कोशी प्रदेशबाट सुरुवात हुनु जरुरी छ ।