Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा एमालेले राजनीतिक बेइमानी गर्यो : राप्रपा प्रवक्ता श्रेष्ठ



राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेबाट धोका पाएको प्रतिक्रिया दिएको छ । बिहीबार सम्पन्न निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार निर्वाचित बन्दा राप्रपाका उद्धव पौडेल पराजित भएपछि राप्रपाले एमालेबाट धोका भएको बताएको हो ।

कोशीमा एमाले र राप्रपाको गठबन्धन थियो । तर, एमालेले राप्रपाको भोट लिएर आफ्ना उम्मेदवार रुक्मिणी कोइरालालाई जिताए पनि सोही अनुसारको भोट पौडेललाई नआएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनले एमालेले आफूहरुलाई धोका दिएको आरोप लगाए । ‘हाम्रो भोट लिएर एमालेले आफ्ना उम्मेदवारलाई जितायो । तर, एमालेले हाम्रो उम्मेदवारलाई भोट नदिएको प्रस्ट देखिन्छ ।’ श्रेष्ठले भने ।

राप्रपाले यसको समीक्षा गर्ने बताउँदै प्रवक्ता श्रेष्ठ भनछन्, एमालेको यो राजनीतिक बेइमानी हो । हामीले इमान्दारीका साथ भोट दियौँ । तर, उहाँहरुको एक जना सांसद र ४ जना पालिकाका जनप्रतिनिधिले मत नदिएको प्रस्ट छ ।

निर्वाचनबाट ५ हजार २९२ मतभारसहित नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौला निर्वाचित भए । उनका प्रतिस्पर्धि राप्रपाका पौडेलले ४ हजार ५६२ मत मात्रै गरे । एमालेका जनप्रतिनिधिले भने निष्क्रिय बनाइएका उम्मेदवार परशुराम अधिकारीलाई पनि मत दिएका छन् । निष्क्रिय उम्मेदवार अधिकारीले १४८ मतभार पाएका छन् ।

श्रेष्ठले एमालेले सोझै बेइमानी गरेको आरोप लगाए । सांसद र पालिकाका प्रतिनिधिबाट नै निष्क्रिय बनाइएका उम्मेदवारलाई भोट दिने कुरा धोका भएको उनको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार