विराटनगर : बिहीबार सात प्रदेशका १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले एक सिटमा विजय हासिल गरेको छ । सत्ता गठबन्धनविरुद्ध कोशी प्रदेशबाहेकका प्रदेशमा एक्लै निर्वाचनमा होमिएको एमालेले कोशीमा जित निकालेको हो ।
राप्रपासँग गठबन्धन गरेको एमालेले कोशीको महिलतर्फ आफ्ना उम्मेदवारलाई विजयी बनायो । कोशीबाट एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छन् ।
सत्तारुढ गठबन्धनको तुलनमा एमाले र राप्रपा गठबन्धनको मत करिब ८ सय कम थियो । तर, एमालेकी कोइरालाले अप्रत्याशित जित निकालिन् ।
कोइराला ५ हजार ८६ मतका साथ विजयी हुँदा उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन् ।
कोइरालाले सत्ता गठबन्धन दलका तीन जना प्रदेश सांसद र स्थानीयतर्फका १६ जनाको मत पाएकी हुन् । एमाले र राप्रपाको गठबन्धन छ । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् । उनलाई ४९ सांसदले मत दिएका छन् ।
देशैभर सत्ता गठबन्धनका उम्मेदवार विजयी हुँदा एमालेबाट चुनाव जित्ने उनी एक्ली उम्मेदवार हुन् । लामो समयदेखि वामपंथी राजनीतिमा सक्रिय रहेकी कोइराला हाल अनेमसंघको केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्जको रुपमा कार्यरत छिन् । योसँगै उनले नेकपा एमालेलाई क्लिनस्विप हुनबाट जोगाएकी छन् ।
कोइराला २०४६ सालदेखि नेपालको वामपंथी आन्दोलनमा सक्रिय छन् । स्कुले जीवनदेखि नै कम्युनिस्ट राजनीतिमा लागेकी कोइरालाको पारिवारिक पृष्ठभूमि पनि पार्टीसँग जोडिएको छ ।