ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन विराटनगर आएका गच्छदार बुधबार साँझ ७ बजे अचानक बेहोस भएर ढलेका थिए ।
निर्वाचनका लागि छलफल गर्न कांग्रेसले होटल स्ट्रन स्टारमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम सकेर होटलमा खाना खाने समयमा उनी अचानक बेहोस भएका थिए ।
बेहोस भएर ढलेपछि गच्छदार उपचारका लागि विराटनगरकै पारस अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नहुने भएपनि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ ।
ग्रामथानका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईका अनुसार गच्छदारको नोबेलको भेन्टिलेृटरमा राखेर उपचार भइरहेको छ । अहिलेसम्म उनी अचेत अवस्थामा छन् । उनका अनुसार गाउँपालिका अध्यक्ष गच्छदारको अवस्था गम्भीर रहेको अस्पलातले जनाएको छ ।
नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका गच्छदार राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आएका थिए । राष्ट्रिय सभाको निर्वाचन आज हुँदैछ ।
प्रदेशका सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता रहेको निर्वाचनमा कोशीमा दुई सिटमा चुनाव हुँदैछ ।
गठबन्धनले अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । एमाले–राप्रपा गठबन्धनबाट अन्यतर्फ राप्रपाका उद्धव पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् ।
मतदान गर्न कुनै कारणले कोही मतदाता आउन नसकेमा अनुपस्थित भएकै मानिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले बताए ।