Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मौन अवधिमा एमाले र कांग्रेसको विराटनगरमा भेला



क्रमशः आफ्ना उम्मेदवारसँग कांग्रेस र एमालेका नेता

विराटनगर : बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि माघ ८ गतेबाट नै मौन अवधि सुरु भइसकेको छ । तर, निर्वाचनको एक दिन अघि आज दलहरुले उम्मेदवारलाई उपस्थित गरेर भेला र चियापान कार्यक्रम गरिरहेका छन् ।

राष्ट्रिय सभाको निर्वाचनको प्रचारप्रसार अवधि सकिएपनि कोशी प्रदेशमा भने चुनावी रौनक भने बढेको छ । प्रदेशमा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ ।

नेकपा एमाले र राप्रपाको गठबन्धनबाट सशंकित बनेका सत्तारुढ गठबन्धनका नेताहरु बोलाएर बुधबार बिहान डा. शेखर कोइरालाले आफ्नै निवासमा चियापान कार्यक्रम गरेका छन् ।

कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौला र महिलातर्फकी उम्मेदवार माओवादीकी चम्पादेवी कार्कीसहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहक जनप्रतिनिधि बोलाएर चियापान गरेका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अबधिमा उम्मेदवार र मतदाता सहभागी गराएर कुनैपनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारंसहिता छ । तर, त्यसलाई उल्लंघन गर्दै दलहरुले कार्यक्रम गरिरहेका छन् ।

कोइरालाले आयोजना गरेको कार्यक्रममा काँग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत सहभागी थिए ।

यता, सत्ता गठबन्धनलाई हराउन गठजोड गरेका एमाले र राप्रपाले पनि कार्यकर्ता भेलाका नाममा उम्मेदवारलाई उपस्थित गराएर भेला गरेका छन् ।

एमाले र राप्रपाले होटल ह्यारिसनमा उम्मेदवार र मतदाताहरु बोलाएर भेला गरेका हुन् । जसको प्रमुख अतिथिका रुपमा नेकपा एमालेका महासचिव शंकर पोखरेल उपस्थित भएका थिए ।

राष्ट्रिय सभाको निर्वाचनमा कोशीको अन्य कोटामा राप्रपाका उद्धब पौडेल र महिलामा एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् ।

बिहीबारको चुनावको सन्दर्भलाई लिएर मंगलबारदेखिनै एमालेले सबै प्रदेश सांसदलाई विराटनगर केन्द्रित गरेको छ ।

यस्तै माओवादी केन्द्रले पनि स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदलाई प्रशिक्षण दिएको छ । माओवादीका सचिवद्वय चक्रपाणी खनाल र राम कार्कीको उपस्थितिमा अन्तरक्रिया र प्रशिक्षक दिइएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार