क्रमशः राप्रपाका पौडेल र एमालेका अधिकारी
विराटनगर : राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ ।
दुई दलबीच लगभग सहकार्यको सहमति भइरहेको बताइएको छ । एमालेका एक जना स्थायी कमिटी सदस्यका अनुसार एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको छ ।
ती स्थायी समिति सदस्यले भने, ‘हामीभन्दा गठबन्धनको मतभार धेरै अघि छ । हामीले जित्न सक्ने अवस्था पनि छैन् । त्यसैले उहाँ (उद्धव पौडेल) लाई समर्थन गर्ने र महिलामा हाम्रो उम्मेदवार रुक्मिणी कोइरालालाई जिताउन सकिन्छ कि भनेर हामीले सहकार्य गरेर जान खोजेका छौँ ।’
दुई सिटमा हुन लागेको निर्वाचनमा एमालेले अन्यतर्फ अधिकारी र महिलातर्फ रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको थियो । अधिकारीलाई एमालेले ब्याक गराएपछि अब राप्रपाले महिलातर्फ अधिकारीलाई सहयोग गर्नेछ ।
राप्रपाले महिलातर्फ उम्मेदवारी दिएको छैन् । चुनावबाट नै सहकार्यमा रहेको दुई दललेबीच सहमति बनेको हो ।
राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले यसको पुष्टि गरे । उनले भने,‘लगभग सहमति भएको छ । आज घोषणा हुन्छ । पत्रकारहरूलाई खबर गर्छौं ।’
सत्ता गठबन्धनको मतभार बलियो भएकाले एक्लै जाँदा जित्ने अवस्था नभएपछि राप्रपासँग तालमेल गरिएको एमाले स्रोतले बतायो । एमालेले अधिकारीलाई ब्याक गराउने र महिलातर्फकी उम्मेदवारलाई जिताउने रणनीति बनाएको छ ।
कोशीमा दुई सिटमा निर्वाचन हुँदैछ । नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादीकी बिना पोखरेलको पदावधि सकिन लागेपछि सो पदका लागि चुनाव हुन लागेको हो ।
कोशीमा राष्ट्रिय सभाका लागि ३ सय ६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।
प्रदेशमा १३७ स्थानीय तहका २७४ जना प्रमुख/उपप्रमुख रहेका छन् । १३७ स्थानीय तहमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३ जना छन् । एमालेका ११२, माओवादी केन्द्रका ३१, एकिकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना रहेका छन् । स्थानीय तहका २७४ जनप्रतिनिधिको ५ हजार २०६ मतभार रहेको छ । जसमा कांग्रेसको २ हजार १४७ मतभार, एमालेको २ हजार १२८, माओवादी केन्द्रको ५८९, नेकपा एसको १३३, जसपा र राप्रपाको ७६–७६ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।
यस्तै ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् । प्रदेशमा एमालेको मतभार २ हजार १२०, कांग्रेसको १ हजार ५३७, माओवादी केन्द्रको ६८९, राप्रपाको ३१८, नेकपा एसको २१२ र जसपाका ५३ मतभार रहेको छ ।
कोशी प्रदेशमा प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २४८, कांग्रेसको ३ हजा ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।