Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश सरकारको नमुना कामः वर्षेनी एकै ठाउँमा नाम फेर्दै अस्पताल बनाउँदै



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको कार्यकाल सय दिन पुगेको उपलक्ष्यमा सोमबार विराटनगरमा शैलेजा आचार्य हृदय रोग केन्द्रको उद्घाटन हुने भएको छ । प्रदेश सरकारले महत्व दिएर केन्द्रको काम द्रुत गतिमा गरिरहेको छ ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले उद्धाटनको तयारी पुरा भएको जानकारी दिइन् । उनले सोमबारदेखि ६ जना डाक्टरसहितको सेवा प्रारम्भ हुने बताइन् ।

उद्घाटन हुन लागेको केन्द्रको ठाउँमा यसअघि पनि विभिन्न नामका अस्पताल बनेर उद्घाटन भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

२०७६ साल चैत ७ गते प्रदेश निर्देशन समितिको निर्णयअनुसार प्रदेश सरकारले ५० शैयाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र बनाएर सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । कोरोनाको महामारीको बेला प्रदेश सरकारले करोडौँ रकम खर्च गरेर नेशनल ट्रेनिङ लिमिटेडको पुरानो गोदाम घरमा अस्पताल सञ्चालनमा ल्याएको थियो । कोरोनाको महामारीमा त्यो केन्द्रले राम्रै तारिफ पनि पाएको थियो ।

कोभिडको राम्रोसँग नियन्त्रण नहुँदै फेरी प्रदेश सरकारले कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई प्रादेशिक प्रसुति तथा स्त्री रोग अस्पतालमा विकसित गर्ने प्रारम्भिक अध्ययनका लागि १२ लाख रुपैयाँ छुट्याएको थियो ।

आर्थिक वर्ष ७८-७९ मा प्रसुति अस्पतालका बारेमा अध्ययन गर्ने बजेट राखी सरकारले नयाँ अस्पतालको रुप दिने प्रयत्न गर्यो । त्यतिबेलाको सरकार ढलेपछि फेरी जयराम यादव स्वास्थ्यमन्त्री हुँदा प्रदेश स्तरीय संक्रमक रोग उपचार केन्द्रको गुरुयोजनाका लागि १५ लाख रुपैयाँ विनियोजन गरियो ।

२०७९ साल भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार असोज २ गते सो अस्पताललाई संक्रामक रोग तथा सघन उपचार केन्द्रको नाममा सञ्चालनमा ल्याइयो ।

फेरी अहिलेको ०८०-०८१ को बजेट प्रतिस्थापन मार्फत ल्याउँदा सोही अस्पताललाई शैलैजा आचार्य हृदय रोग केन्द्रका लागि ५ करोड ५० लाख बजेट विनियोजन गरेर काम सुरु गरिएको छ । त्यही केन्द्र सोमबार उद्धाटन हुँदैछ ।

कोभिड उपचार केन्द्र बनाउँदा १७५ जनाको दरबन्दी रहेकोमा पछि ६१ हुँदै अहिले ४२ जनाको दरबन्दी रहेको अवस्थामा अस्पतालको रुपान्तरण भएको हो ।

सरकार आएपिच्छे नीति परिवर्तन र प्राथमिकता परिवर्तन गरेर एकै ठाउँमा वर्षेनी नयाँ उपचार केन्द्र स्थापना हुनुलाई कर्मचारीहरुले अस्थिर सरकार हुँदाको परिणाम भएको बताएका छन् । मुख्यमन्त्री कार्कीले भने सार्वजनिक कार्यक्रमहरुमा यो उपचार केन्द्रले प्रदेश मात्र नभएर भारतका बिरामीलाई पनि सेवा दिने भएकाले उपचार केन्द्र राम्रो हुने बताउँदै आएका छन् ।

यसअघि स्वास्थ्यको समेत जिम्मेवारी सम्हालेका सामाजिक विकास मन्त्री भएका जीवन घिमिरे, उषाकला राई र स्वास्थ्यमन्त्री भएका जयराम यादवले नाम परिवर्तन गर्दा यी सबै नयाँ अभियानका उपचार केन्द्रलाई प्रदेशको नमुनाको रुपमा व्याख्या गर्ने गर्थे ।

प्रतिक्रिया
सम्बन्धित समाचार