विराटनगर : मोरङको विराटनगर महानगरपालिका वडा नम्बर-८ ले वडाभित्रका सामुदायिक विद्यालयहरुमा योग कार्यक्रम शुरु गरेको छ ।
पहिलो चरणमा वडा भित्रका ४ वडा सामुदायिक विद्यालयमा योग कार्यक्रम शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।
योगका माध्यमबाट विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने र शारिरीक रुपमा स्वस्थ राख्ने उद्देश्य सहित वडाले विद्यार्थी लक्षित कार्यक्रम शुरु गरेको उनले बताए ।
अभियान अन्तर्गत ज्ञान निकुञ्ज आधारभुत विद्यालयमा ५ दिने योग शिविर सम्पन्न भएको छ ।
पतञ्जली योग समिति मोरङ, महिला पतञ्जली योग समिति मोरङसँगको सहकार्यमा शुरु भएको कार्यक्रम शुशिक्षा निकुञ्ज विद्यालयमा माघ ७–१२ गते, महेन्द्र माविमा माघ १३–१८, र मदर्शा तालिमुल कुरानमा माघ २०–२५ गतेसम्म ५/५ दिने योग शिविर सञ्चालन गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिए ।
पतञ्जली योग पीठ नेपालकी आजिवन सदस्य तथा महानगर समिति विराटनगर अध्यक्ष शिल्पा प्याकुरेलको सभापतित्वमा भएको समापन कार्यक्रममा वडा सदस्यहरु ताराकुमारी राय , भुवन राजवंशी, पवित्रा विश्वकर्मा, मो.अब्बास, वडा कार्यालय सचिव मनोज मल्लिक, विद्यालयका शिक्षक शिक्षिका, पतञ्जली मोरङ अध्यक्ष सुरेशकुमार अग्रवाल, आजिवन सदस्य चन्द्रमणी गुरागाई, महिला पतंजली योग मोरङकी प्रतिनिधि सरस्वती दाहाल, महानगर समितिका महासचिव प्रल्हादप्रसाद दङ्गाल, संगठन सचिव हरि भट्टराई, सदस्यहरु जुना नेपाल, चक्रप्रसाद लुईटेल, योग शिक्षक केवलराम कोईराला, उमेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।