Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय सभा सदस्य बन्न कोशीमा पाँच जनाको उम्मेदवारी


  • Purbeli Press
  • सोमबार, पुष २३ २०८०

क्रमशः गठबन्धन र एमालेका उम्मेदवार

विराटनगर : राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा पाँच जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि सोमबार पाँच जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्ता गठबन्धनका तर्फबाट अन्य क्षेत्रमा नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौला र महिलातर्फ नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले मनोनयन दर्ता गराएका हुन् ।

सिटौलाको प्रस्तावकमा कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन् । उनीहरु दुवैजना कांग्रेसका सांसद हुन् । यस्तै कार्कीको प्रस्तावकमा माओवादी सांसद तथा पर्यटनमन्त्री गणेश उप्रेती र समर्थकमा कांग्रेस सांसद रामकुमार खत्री छन् ।

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका झापाका सिटौला प्रतिनिधिसभाको निर्वाचनमा भने पराजित भएका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । ओखलढुंगाकी कार्की माओवादी केन्द्रीय सदस्य हुन् । उनी जनयुद्ध कालदेखि नै माओवादीमा सक्रिय छिन् ।

यस्तै प्रमुख प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि दुवै पदमा मनोनयन दर्ता गराएको छ । एमालेबाट अन्यतर्फ भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गरएका हुन् ।

अधिकारीको प्रस्तावकमा प्रदेश सांसद सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी छन् । यस्तै कोइरालाको प्रस्तावकमा रामप्रसाद महतो र समर्थकमा शिलादिक्षीत कार्की छन् ।

अधिकारी पूर्व माओवादी नेता हुन् । नेकपा विभाजनपछि एमालेमै बसेका अधिकारी अहिले केन्द्रीय सदस्य छन् । कोइराला सुनसरीकी महिला नेतृ हुन् ।

राप्रपाले पनि कोशीमा अन्य क्षेत्रतर्फ उम्मेदवारी दिएको छ । राप्रपाका उपाध्यक्ष उद्धव पौडेलले मनोनयन दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा भक्तिप्रसाद सिटौला र समर्थकमा रवीन्द्र लिङ्देन छन् ।

कोशीमा दुई सिटमा निर्वाचन हुँदैछ । नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादीकी बिना पोखरेलको पदावधि सकिन लागेपछि सो पदका लागि चुनाव हुन लागेको हो ।

कोशीमा राष्ट्रिय सभाका लागि ३ सय ६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

प्रदेशमा १३७ स्थानीय तहका २७४ जना प्रमुख/उपप्रमुख रहेका छन् । १३७ स्थानीय तहमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३ जना छन् । एमालेका ११२, माओवादी केन्द्रका ३१, एकिकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना रहेका छन् । स्थानीय तहका २७४ जनप्रतिनिधिको ५ हजार २०६ मतभार रहेको छ । जसमा कांग्रेसको २ हजार १४७ मतभार, एमालेको २ हजार १२८, माओवादी केन्द्रको ५८९, नेकपा एसको १३३, जसपा र राप्रपाको ७६–७६ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

यस्तै ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् । प्रदेशमा एमालेको मतभार २ हजार १२०, कांग्रेसको १ हजार ५३७, माओवादी केन्द्रको ६८९, राप्रपाको ३१८, नेकपा एसको २१२ र जसपाका ५३ मतभार रहेको छ ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २४८, कांग्रेसको ३ हजा ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार