अनेमसंघ मोरङ क्षेत्र नं १ को प्रथम सम्मेलनमा सहभागी नेताहरु
विराटनगर : केही समयअघि मात्रै १९ दिन लगाएर नेकपा एमालेले मध्य पहाड केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प अभियान सम्पन्न गर्यो । अभियानमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मात्रै प्रमुख र एक्ला वक्ता थिए ।
मध्य पहाडको अभियान सम्पन्न गरेर एमाले अहिले पार्टीका जिल्ला अधिवेशन र भातृ सङ्गठनको अधिवेशनमा लागेको छ । तर, एमालेले २०८० भदौ १ गते जारी गरेको ८ बुँदे अन्तर पार्टी निर्देशन (अपानी) अनुसार कार्यक्रमहरू भइरहेका छैनन् ।
एमाले कोशी प्रदेश कमिटीले हालसालै दुई वटा जनसङ्गठनको प्रदेश अधिवेशन सम्पन्न गरेको छ । पुस १३ र १४ गते नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अधिवेशन सम्पन्न गरेको एमालेले शनिवार लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ कोशीको अधिवेशन सम्पन्न गर्यो । तर, दुवै अधिवेशनमा अपानकीको निर्देशन कार्यान्वयन भएन ।
उक्त अपानकीको ४ नम्बर बुँदामा सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आशनग्रहण र मञ्च व्यवस्थापनको विषय उल्लेख गरिएको छ । त्यहाँ भनिएको छ, ‘कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्ने गरी अतिथि र वक्ताहरूलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने निर्णय गरिएको छ । कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्न र कार्यक्रमलाई भड्किलो नबनाउन समेत निर्देशित गरिएको छ ।’
अपानीमा निर्देशन जारी भए पनि एमाले नेताहरूले यसको कार्यान्वयन भने गरेका छैनन् । शनिवार मात्रै सम्पन्न जनजाति महासङ्घको कार्यक्रममा ५० जनाभन्दा बढी नेता अतिथिका रूपमा मञ्चमा रहेको कार्यक्रममा सहभागी एमालेका एक जना प्रदेश नेताले बताए । उनका अनुसार भाषण पनि धेरै नेताहरूले गरे ।
अखिल नेपाल महिला सङ्घले पनि प्रदेशमा क्षेत्रीय अधिवेशनहरूलाई तीव्रता दिएको छ । उनीहरूले आयोजना गर्ने कार्यक्रममा पनि अपानकीको पालना भएको छैन ।
आइतबार मात्रै अनेमसंघ मोरङ क्षेत्र नं. १ को प्रथम सम्मेलन सम्पन्न भयो । सम्मेलनमा एमालेकी स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे प्रमुख अतिथि थिइन् । मञ्चमा अरू २०/२५ जना अतिथि थिए । कार्यक्रममा तुम्बाहाम्फेसहित एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य युवराज बास् कोटा, अनेमसंघ कोशी अध्यक्ष तथा प्रदेश सांसद सिर्जना राई, प्रदेश सांसद उमाकान्त गौतम, बिनादेवी राई, भीष्मा रेग्मी, यशोदा अधिकारी लगायतका नेताहरू अतिथिका रूपमा उपस्थित थिए । सहभागी एक नेताका अनुसार आजको कार्यक्रममा शिवमाया तुम्बाहाम्फे, घनश्याम खतिवडा, सिर्जना राई, उमाकान्त गौतम, बिनादेवी राई, यशोदा अधिकारी लगायतका नेताहरूले भाषण गरेका थिए ।
अनेमसंघ कोशीकी अध्यक्ष राईले आयोजकका कारण अपानकीको पालना हुन नसकेको बताइन् । उनले बैठकमा निर्देशन कार्यान्वयन भइरहे पनि सार्वजनिक कार्यक्रममा भने कठिनाइ भइरहेको बताइन् । उनले भनिन्, ‘आयोजकका कारण यस्तो भएको हो । हामीले निर्देशन दिएकै छ । बैठकमा हामीले कार्यान्वयन गरिरहेका छौँ । तर, कार्यक्रममा कठिनाइ भइरहेको छ । अब सुधार्छौँ ।’
यस्तै एमाले कोशीका अध्यक्ष खतिवडाले आयोजकले कुरा नबुझ्दा समस्या भइरहेको बताए । उनले अबका कार्यक्रमहरूमा सुधार गरेर अघि बढ्ने बताए । उनले भने, ‘हामी कार्यान्वयनको पक्षमा छौँ । अब रोक्छौँ ।’