Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा सभामुख लिन राप्रपा सकारात्मक



विराटनगर : कोशी प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पद लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सकारात्मक देखिएको छ । सत्ता गठबन्धनले सभामुख लिनका लागि गरेको प्रस्तावमा राप्रपा सकारात्मक देखिएको हो ।

सभामुखमा अम्बर बहादुर बिष्टलाई अघि सार्ने राप्रपाको तयारी छ । १६ साउनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशीमा सभामुख पद रिक्त छ ।

राप्रपाका सांसद बिष्टले सभामुखका लागि गठबन्धनबाट प्रस्ताव आएको र पार्टीले आफ्नो नाम दिएको बताए । उनले आफू सभामुख बन्ने वातावरण सिर्जना भए सभामुख बन्न तयार रहेको बताए ।

कोशीमा राप्रपाले सभामुख नलिनुपर्ने कुनै कारण नभएको उनी बताउँछन् । उनले पूर्वेलीप्रेससँग भने, ‘हामीले कोशीमा सभामुख नलिनुपर्ने कारण छैन् । किनकी बागमतीमा हाम्रो पार्टीको सभामुख हुनुहुन्छ । लुम्बीनीमा हाम्रो उपसभामुख हुनुहुन्छ । त्यसैले पार्टी केन्द्रले कोशीमा चाहिँ हामीलाई नजा भनेर भन्दैन होला ।’

उनका अनुसार कोशीको सभामुख लिन पार्टीको केन्द्रीय नेतृत्व पनि सकारात्कम छ । तर, प्रदेशमै भने नेताहरु दुई धारमा विभाजित भएका छन् । ‘संसदीय दलले पनि मेरो नाम दिएको छ । तर, पार्टीका दुई धार देखिएको छ,’ उनले भने, ‘एकथरी सभामुख लिनुपर्छ भन्दैछन् । अर्कोथरी सभामुख नलिइ प्रतिपक्षमा बस्नुपर्छ भनेर भनिरहेका छन् ।’

प्रदेशसभा सचिवालयले सभामुख चयनको कार्यसूचि निकालेपछि थप छलफल गरेर निर्णयमा पुग्ने बिष्टको भनाइ छ । उनले २/३ दिनभित्र केही संकेत देखापर्ने समेत बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार