विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आइतबार तमु ल्होसारका अवसरमा प्रदेशको नाम उल्लेख नगरी शुभकामना जारी गरेपनि चर्को आलोचना भइरहेको छ ।
कार्कीले दिएको शुभकामनामा कोशी प्रदेश नलेखेपछि उनी आलोचित बन्न पुगे । मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशको दायाँ भागमा विराटनगर नेपाल मात्रै लेखेपछि त्यसको विरोध भएको हो ।
कार्कीले आफ्नो सामाजिक सञ्जालमा समेत प्रदेश उल्लेख नभएको सन्देश पोष्ट गरेका थिए ।
उक्त विषय सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरुले मुख्यमन्त्रीले गम्भीर त्रुटि गरेको र तत्काल प्रदेशवासीसँग क्षमा माग्नुपर्ने बताएका छन् ।
कतिपयले त कार्कीले जारी गरेको शुभकामनालाई सेयर गरेर ‘यो कुन प्रदेशको मुख्यमन्त्रीले दिएको शुभकामना हो ?’ भन्दै प्रश्न गरेका छन् भने कतिले मुख्यमन्त्रीलाई तपाईँ कहाँको मुख्यमन्त्री हो ? भन्दै प्रश्न गरेका छन् ।
नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सुनिता बरालले मुख्यमन्त्रीको शुभकामना सेयर गर्दै तत्काल सच्याउन र माफी माग्न अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘मुख्यमन्त्री ज्यु यो तुरुन्तै सच्याउनुस र माफि माग्नुस !! नाम परिवर्तन गर्ने नियत भए, प्रक्रिया पढ्नुस्, अन्यथा पदका लागि यति निर्लज्जता शोभनिय हुदैन !!!’
एमालेकी कोशी प्रदेशसभा सदस्य सिर्जना राईले मुख्यमन्त्रीले नामको बिरोध गरे जस्तो गरेर जनताको आखाँमा छाह्रो हाल्ने काम गरेको भन्दै त्यसको विरोध गरेकी छन् । उनले सरकारलाई समर्थन दिनुको औचित्य समाप्त भएको बताइन् ।
राईले मुख्यमन्त्रीले प्रदेशको नाम लेख्न नसकेको भन्दै अब बस्ने सदनमा नामको बिषयमा पुनः संशोधनको प्रस्ताव दर्ता गराउन चुनौतीसमेत दिएकी छन् ।
यस्तै विराटनगरका पत्रकार महेन्द्र बिष्टले मुख्यमन्त्री कार्यालयको लेटरप्याडमा प्रदेशको नाम नहुनु मुख्यमन्त्रीको सचिवालयको गम्भीर त्रुटि भएको बताए ।
सामाजिक सञ्जालमा चर्को विरोध भएपछि मुख्यमन्त्रीको सचिवालयले प्रदेशको नाम उल्लेख गरेर अर्को शुभकामना जारी गरेको थियो । मुख्यमन्त्री कार्कीको सचिवालयले प्राविधिक त्रुटिका कारण प्रदेशको नाम उल्लेख नभएको बताएको छ ।
२०७९ फाल्गुन १६ गते प्रदेशसभाबाट कोशी नाम पारित भएको थियो ।
