Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशमा मध्यावधिको सम्भावना छैन : मुख्यमन्त्री कार्की



हेटौँडा : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताएका छन् । कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको काम अघि बढ्ने उनले बताए ।

शुक्रबार हेटौँडामा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले चाँडै नै प्रदेशमा रहेका दलको सहमतिमा सरकारले पूर्णता पाउने जानकारी गराए । केही समयअघि जारी भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा दलले दिएको समर्थनले प्रदेशमा क्रियाशील सबै दलको सहमतिमा पुष्टि गरेको उनको भनाइ छ ।

सङ्घीयता कार्यान्वयनको सवालमा कोशी प्रदेश सरकारले अगुवाइ गर्ने उनले बताए । सङ्घीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको र प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटनाक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

सङ्घीय सरकार र सांसद लोकप्रियताका लागि जिम्मेवारीभन्दा बाहिरका काममा केन्द्रित भइरहेको उनले आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार