Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकार जनताप्रति उत्तरदायी बन्न उदासीन देखिएको एमालेको आरोप



विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की संसदमार्फत जनताप्रति उत्तरदायी बन्ने कुरामा उदासीन देखिएको एमालेले आरोप लगाएको छ ।

बुधवार प्रदेशसभाको विषय समयमा दलका तर्फबाट समय लिएर बोल्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेत रेवतीरमण भण्डारीले सरकार जनता र सदनप्रति जबाफदेही नभएको आरोप लगाए ।

भण्डारीले सरकारले लामो समयसम्म पनि मन्त्री नियुक्ति गर्न नसक्नु अचम्म र लाजमर्दो भएको बताए । भण्डारीले भने, ‘सरकार प्रदेश संसद् प्रति जवाफदेही र उत्तरदायी छैन् । कोशी सरकार संसदमार्फत जनताप्रति उत्तरदायी बन्ने कुरामा उदासीन छ । यो आरोप हो । खण्डन गर्नुस् ।’

प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू अनुपस्थित भएर गैर जिम्मेवार बनेको उनको आरोप छ । मन्त्रीहरू अत्यावश्यक काममा बाहेक नियमित सभामा उपस्थित हुनुपर्ने उनको तर्क थियो । उनले भने, ‘शून्य समयमा सांसदहरूले उठाएको विषयमा हप्तामा एक पटक मन्त्रीहरूले जवाफ दिनुपर्नेमा आज सम्म सरकारले दिन सकेको छैन् ।’

उनले अगाडि थपे, ‘मुख्यमन्त्रीलाई नदेखेको धेरै भयो । कहाँ हुनुहुन्छ ?’

मुख्यमन्त्रीमा नियुक्त भएको ७५ दिन पुग्दा पनि केदार कार्कीले प्रदेशको कार्यसम्पादन प्रभावकारी बनाउने र सुशासनयुक्त बनाउने कुरामा कुनै चासो, चिन्ता नदेखाएको भण्डारीको आरोप छ ।

मुख्यमन्त्रीको रुचि सरकारको प्रभावकारी सञ्चालनमा भन्दा भाषण, शिलान्यास र उद्घाटनमा भएको उनले बताए ।

यस्तै उनले कानुनी भाषामा सरकार अल्पमतमा रहेको बताएका छन् । उनले भने, ‘सरकारमा सहभागी नभएका दल बाहेक अरू दललाई प्रतिपक्ष मानिन्छ । एमालेको ४०, राप्रपाको ६ र जसपा पनि सरकारमा छैन् । हामी ४७ सरकार बाहिर छौँ । तपाई ४६ लिएर अहिले सरकारमा हुनुहुन्छ । तर तपाईँको व्यवहार ८५/८६ को बहुमत भए जस्तो देखिन्छ ।’

मुख्यमन्त्री कार्कीले प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलसँग संसदीय मूल्य, मान्यतामा जुन सम्बन्ध स्थापना गर्नुपर्ने हो त्यसमा उदासीनता देखाएको भण्डारीको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार