काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका सूचकमा एक वर्षपछि प्रगति देखिन थालेको बताएका छन् ।
मोरङ व्यापार संघले आयोजना गरेको उद्योग व्यापार मेला ( विराट एक्स्पो २०२३) को उद्घाटन समारोहलाई विराटनगरमा आज सम्बोधन गर्दै उनले एक वर्षको प्रयास पछि अर्थतन्त्रका सूचकमा प्रगति देखिन थालेको बताए ।
‘सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो,’ उनले भने ।
एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश २ वर्षयताकै प्रगतिमा रहेको उनको दाबी छ ।
उनले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।
उनले भने, ‘यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैंमा महत्वपूर्ण पहल हो ।’ उनले चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको भन्दै रेमिटेन्सको निर्भरता अर्थतन्त्रको दीर्घकालीन समाधान भने नगर्ने स्वीकार गरे ।