विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेकाे देशकै दाेस्राे ठूलाे इनरुवा सबस्टेसन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।
४०० केभी क्षमताको ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ । सबस्टेशन उद्घाटनका लागि ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिहिबारदेखि इनरुवामा थिए ।

यस्तो छ प्रचण्डको आजको कार्यतालिका
विराटनगरमा आजदेखि सुरु हुने ट्रेड एक्स्पो–२०२३ ब्यापार मेलाको उद्घाटनका लागि हिजो साझँ विराटनगर आइपुगेका प्रधानमन्त्रि प्रचण्ड राती कान्छी छोरी गंगा तथा ज्वाइँ जीवन आचार्यको विराटनगरस्थित घरमा बसेका थिए । आचार्य कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री समेत हुन् ।
आज मोरङर सुनसरीमा हुने कार्यक्रममा प्रधानमन्त्रि सहभागी हुनेछन् । विहान इनरुवामा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनको उद्घाटन गरेका प्रधानमन्त्रि प्रचण्ड दिउसो मिक्लाजुङ गाउँपालिकाको कार्यालयमा हुने कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि स्थानीयको घरमा खाना खाने कार्यक्रम रहेको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले बताए । खानापछि मिक्लाजुङ गाउँपालिका पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गरी दिउँसो ३ बजे मोरङ व्यापार संघ एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी स्रोतले जनाएको छ । एक्स्पोको उद्घाटनपछि प्रधानमन्त्री आजै साझ राजधानी फर्कनेछन् ।