विराटनगर । मोरङ व्यापार संघको आयोजना आजदेखि विराटनगरमा सुरु हुने ट्रेड एक्स्पो–२०२३ ब्यापार मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले दिउँसो उद्घाटन गर्ने भएका छन् ।
११ दिनसम्म सञ्चालन हुने एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनी हुनेछ । एक्स्पोको तयारी सकिएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एक्सपोमा जर्मन प्रविधिमा निर्मित हेंगरमा २ सय ४० वटा स्टल रहने ब्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।
एक्स्पो ५ लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । एक्स्पो आयोजना गर्न करिब ४ करोड खर्च हुने र १० दिनमा १५ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।
सुरुमा २०० वटा स्टल राख्ने तयारी गरेकोमा औद्योगिक र व्यापारिक घरानाको माग बढेसँगै ४० वटा स्टल थप गरिएको एक्स्पोका संयोजक अनिल साहले बताए । एक्स्पोमा स्वदेशी औद्योगिक र कृषि उत्पादनसहित भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी हुने बताइएको छ ।
एक्स्पोमा सर्वसाधारणलाई मनोरञ्जन दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय कलाकारबाट दिनहुँ सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।