Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पहिचानवादीलाई पोखरेलले भने: एमालेसँग दुरी बढाएर समस्याको समाधान हुदैन



विराटनगर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेकाहरुलाई एमालेसँग दुरी बढाएर समस्याको समाधान नहुने बताएका छन् ।

मंगलबार विराटनगरमा एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पहिचानवादीहरुको आवाज विज्ञप्तीमा मात्रै देखिएको र जनता तहमा नरहेको बताए ।

एमालेले चुनावमा जाँदा साझा पहिचानको कुरा उठाएको स्मरण गराउँदै उनले एकल पहिचानको मुद्धा लिएर चुनावमा जानेहरु नै कोशी नामकरणको पक्षमा आएको बताए । पहिचानवादीहरुले एमालेसँग गुनासो गर्न आवश्यक नरहेको उनले बताए ।

कोशीमा पहिचानवादीको विरोध एमाले केन्द्रित भएपनि तल्लो तहका जनतामा विरोधको स्वर नसुनिएको उनले बताए ।

उनले हालै सम्पन्न सङ्कल्प यात्रा एमालेको भए पनि कार्यक्रम सर्वदलीय भएको बताए ।

धेरै जिल्लामा संयुक्त ज्ञापन पत्र दिएको साझा र सामूहिक समस्या प्रकट भएको उल्लेख गर्दै उनले प्रदेशको र जिल्लाको समस्याका बारेमा माग राखेको र त्यो माग कुनै राजनीतिक दलको भन्दा पनि जनताले स्वतः स्फूर्त माग राखेको बताए ।

उनले मध्य पहाडमा धेरै विकास पुगेको भए पनि बसाइसराइको समस्या त्यो भन्दा बढी भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार