विराटनगर : परस्त्रीसँग होटलमा रङ्गेहात फेला परेपछि पक्राउ परेका सुनसरीको रामधुनी नगरपालिका वडा नं।७ का वडा अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य केशव गौतम निलम्बनमा परेका छन् ।
नेकपा एमाले सुनसरी जिल्ला कमिटीको १० औँ बैठकले गौतमलाई पार्टीबाट निलम्बन गरेको हो ।
प्रहरीले शनिबार गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो । उनलाई धरान उप–महानगरपालिका–१२ स्थित शुभकामना होटलबाट पक्राउ गरिएको थियो ।
एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीका अनुसार गौतमलाई अर्को निर्णय नहुन्जेल सम्मका लागि निलम्बन गरिएको छ ।
यस्तै बैठकले पार्टी केन्द्रले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा २०८० कोशी प्रदेश प्रवेश गरेपछि मङ्सिर २८ गते तेह्रथुमको बसन्तपुरमा हुने जनसभामा सहभागीता जनाउने तयारी गरेको छ ।
रेवतीरमण भण्डारीको अध्यक्षता बसेको बैठकमा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख आतिथ्यता, केन्द्रीय कमिटी सदस्य जगदीश कुसियैत, भगवती चौधरी, इन्दु गौतम, लक्ष्मी गौतम, मन्जु भण्डारी सुवेदी, केन्द्रीय आयोग सदस्य पोस्ट नेपाललगायतको उपस्थिति रहेको थियो ।