काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरु गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा पहिचानवादीहरुले कोशी प्रदेशमा कार्यक्रम बिथोल्ने संकेत गरेपछि फुर्ती नदेखाउन चुनौती दिएका छन् ।
एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोगमार्ग केन्द्रीत अभियानका क्रममा बिहीबार पर्वतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताए ।
कोशी नामकरणविरुद्ध आन्दोलनरत पहिचानवादीहरुले एमालेको अभियानलाई कोशी प्रदेश प्रवेश गर्न नदिने सार्वजनिक गरिसकेका छन् । सोही सन्दर्भलाई लिएर अध्यक्ष ओलीले कसैले एमालेलाई कहाँ जाने नजाने भन्ने कुरा सिकाउन आवश्यक नरहेको बताए ।
उनले भने, ‘नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्नेकुरा सिकाउन आवश्यक छैन् । कोशी प्रदेशमा एमालेलाई प्रवेश गर्नै नदिने भन्ने फुर्ती नलगाए हुन्छ । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने आतंककारी कुराहरुको सामना गरेर अघि बढ्न हामी तयार छौँ ।’
उनले सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको बताए ।