विराटनगर : सुनसरीको धरानबाट प्रकाशित हुने ब्लास्ट दैनिकका सम्पादक किशोर कुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । कार्कीलाई आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराएका हुन् ।
राप्रपा प्रवेश गरेका कार्की ब्लास्टका प्रबन्ध निर्देशक समेत हुन् । केही दिनअघि लिङ्देनले कार्कीलाई उनै घरमा पुगेर भेटघाट गरेका थिए ।
उनी नेकपा एमालेका पूर्व नेता समेत हुन् । एमालेको प्रदेश कमिटी सदस्य हुँदा कार्कीलाई पार्टीले निलम्बन गरेको थियो ।
गत वर्षको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाएर मनोज कुमार मेन्याङ्बोलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि कार्कीलाई एमालेले कारबाही गरेको थियो । त्यसयता उनी एमालेको गतिविधिमा संलग्न छैनन् ।