विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीले हर्कपुरमा हुने आमसभामा १५ हजार बढी उतार्ने तयारी गरेको छ । एमालेले बैतडीको झुलाघाटबाट शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ्ग संकल्प यात्रा’को अभियान मंसिर २६ गतेबाट कोशी प्रदेशमा प्रवेश गर्नेछ ।
प्रदेशको पहिलो आमसभा हर्कपुरमा हुने एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त आमसभामा उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबाट करिब १५ हजारको सहभागीता रहने खतिवडाले बताए ।
शुक्रबार अभियानलाई केन्द्रित गरेर घुर्मीमा उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको संयुक्त बैठक पनि सम्पन्न भएको छ । बैठकले मंसिर २६ गते हर्कपुरमा भब्य सभा गर्ने, कोशी प्रदेशको सिमाना (बादुरा खोला) मा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको टोलीको स्वागत गर्ने निर्णय गरेको छ ।
एमालेका पोलिट्ब्युरो सदस्य विशाल भट्टराईका अनुसार उक्त सभामा साँस्क्रृतिक झाँकीको समेत प्रदर्शन हुनेछ । मध्यपहाडी लोकमार्गमा पर्ने स्थानको समृद्दिको खाका तयार गरी नेतृत्वसमक्ष हस्तान्तरण गर्ने भट्टराईले बताए । उनका अनुसार अभियानका क्रममा मध्यपहाडको बिकास र समस्याबारे सार्वजनिक रुपमा ब्यापक परामर्श गरी कार्ययोजना तयार पारिनेछ ।
प्रदेश अध्यक्ष खतिवडाका अनुसार अभियानका क्रममा स्थानीय जनतासँग परामर्श गरेर मध्यपहाडबाट कसरी बसाई सराई क मगर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल हुनेछ । उनले भने, ‘मध्यपहाडमा बसाई सराई धेरै भइरहेको छ । यसलाई रोक्न के गर्नुपर्छ त्यो हामी एउटा योजना बनाउँछौँ । यो भेगका जनताको एमालेसँगको बुझाई बुझ्ने कोशिश गर्छौ । अन्तरक्रिया कार्यक्रमहरु हुन्छन् ।’
अभियानमा नेताको कुरा सुन्ने भन्दा पनि बढी जनताका कुरा सुनिने उनले बताए ।

अभियानलाई केन्द्रित गरेर घुर्मीमा बसेको बैठक । तस्बिरः विशाल भट्टराईको फेसबुकबाट
यस्तो छ कोशी प्रदेशको कार्यतालिकाः
मंसिर २६ । दूरीः १५७ किमी
प्रस्थान बिन्दुः मन्थली । खाना खाने स्थानः घुर्मी । बासस्थानः दिक्तेल ।
सम्भावित भेटघाट बिन्दुः खुर्कोट, फिक्कल, हलेसी । सभाः हर्कपुर ।
मंसिर २७ । दूरीः ८४ किमी
प्रस्थान बिन्दुः दिक्तेल । खाना खानेस्थानः भोजपुर । बासस्थानः भोजपुर ।
सम्भावित भेटघाट बिन्दुः अन्नपूर्ण । कार्यक्रमः छलफल (भोजपुर) ।
मंसिर २८ गते । दूरीः ९४ किमी
प्रस्थान बिन्दुः भोजपुर । खाना खाने स्थानः पाख्रीबास । बासस्थानः
बसन्तपुर । सम्भावित भेटघाट बिन्दुः प्याउली, लेगुवा, पाख्रिबास । सभाः
बसन्तपुर ।
मंसिर २९ गते । दूरीः ९४ किमी
प्रस्थान बिन्दुः बसन्तपुर । खाना खाने स्थानः म्याबलुब । बासस्थानः
सक्रान्ति बजार । सम्भावित भेटघाट बिन्दुः औंसीडाँडा । कार्यक्रमः
छलफल ।
मंसिर ३० गते । दूरीः ७६ किमी
प्रस्थान बिन्दुः सक्रान्ति बजार । खाना खानेस्थानः आठराई । बासस्थानः
फिदिम । सभाः फिदिम ।
पुस १ गते । दूरीः १०१ किमी
प्रस्थान बिन्दुः फिदिम । खाना खाने स्थानः च्याबथापु। बासस्थानः
फिदिम । सम्भावित भेटघाट बिन्दुः च्याबथापु। सभाः छैन ।
पुस २ गते । प्रस्थान बिन्दुः फिदिम । चिवाभञ्ज्याङ्ग ।