तस्बिर : मदन भण्डारी स्पोर्ट्स एकेडेमीको फेसबुकबाट ।
विराटनगर : मधेश प्रदेशले राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको विभागीय त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।
शुक्रबार पोखरा क्रिकेट मैदानमा भएको फाइनल खेलमा मधेशले आर्मीलाई ११ रनले हराउँदै पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोगिता हात पारेको हो ।
पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको गुमाएर आर्मीलाई १३६ रनको लक्ष्य दिएको थियो । तर, आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्र जोड्न सक्यो ।
मधेशका लागि विशाल पटेलले सर्वाधिक रन जोडे । उनले ३२ बलमा ३ चौका र ३ छक्काको सहयोगमा नटआउट ४९ रन बनाएका थिए । यस्त्ै कप्तान हरिशंकरले २७ रन बनाउँदा हिमांशु दत्तले १४ रन र विशाल सुस्लिङले १० रन बनाए । मधेशका अरु ब्याट्स्मेनले दोहोरो अंक जोड्न सकेनन् ।
मधेशलाई १३५ रनमा रोक्नका लागि आर्मीका विवेक यादव र शाहव आलामले समान ३३ विकेट लिँदा सोमपाल कामी र बसिर अहमदले ११ विकेट लिन सफल भए ।
लक्ष्य पछ्याउने क्रममा आर्मीका कप्तान विनोद भण्डारीले ३२ रन, सन्तोष कार्कीले १६ रन र भीम सार्कीले २२ रन बनाउँदा अन्य राम्रा ब्याट्समेनले राम्रो प्रदर्शन गर्न सकेनन् । आर्मीका रोहित पौडेल ५ रन, बसिर अहमद २ रन, कुशल मल्ल ० र राजेश पुलामी ३ रनमै आउट भए । सोमपाल कामीले १५ बलमा नटआउट १६ रन र विवेकले १४ बलमा नटआउट २५ बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।
बलिङमा मधेशका कप्तान हरिशंकर साहले ४ विकेट, प्रदीप पासवानले २ विकेट लिए भने पार्थिक यादवले १ विकेट लिन सफल भए ।
आर्मीलाई हराएसँगै मधेश यो पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोगिता जितेको छ । उपाधिसँगै उसले ५ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता आर्मीले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।
राट्रिय खेलाडीको बाहुल्यता रहेको विभागीय टिमलाई फाइनलमा हराएपछि यतिबेला मधेश प्रदेशका खेलाडीको प्रसंशा भइरहेको छ ।
आर्मीमा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसहित १० जना राष्ट्रिय खेलाडी छन् । तर, यस्तो बलियो मानिएको टिमलाई स्थानीय खेलाडीले भरिपूर्ण मधेशले सजिलै हराएको छ ।
आर्मीका कप्तान राष्ट्रिय टिमका नियमित सदस्य विनोद भण्डारी छन् । रोहित र विनोदसँगै आर्मीमा सोमपाल कामी, भीम सार्की, कुशल मल्ल, विवेक यादव, राजेश पुलामी, जितेन्द्र मुखीय, साहव आलम र बसिर अहमद टोलीमा थिए । यी सबै राष्ट्रिय टोलीमा परिसकेका खेलाडी हुन् ।
मधेशमा भने तीन जनामात्रै राष्ट्रिय टिमबाट खेलेका खेलाडी छन् । कप्तान हरीशंकर शाह, पवन सरार्फ र अनिल शाह मात्रै राष्ट्रिय टिमबाट खेलेका खेलाडी मधेशमा थिए ।
मधेशको यो जितले स्थानीय स्तरमा क्रिकेटका राम्रा प्रतिभाहरुको उत्पादन भइरहेको छ भन्ने सन्देश पनि दिएको छ ।