काठमाडौं : नेकपा एमालेको मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रा बैतडीको झुलाघाटाबाट सुरु भएको छ ।
महाकाली किनार झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर पदयात्राको शुभारम्भ गरेका हुन् । पदयात्रा कार्यक्रममा सहभागी हुन एमालेको केन्द्रीय पदाधिकारीसहितको शीर्ष नेतृत्वको टोली हिजै बैतडी पुगेको थियो ।
बैतडी सदरमुकाम गोठालापानीमा बास बसेका ओली बिहानै पार्टीको महाकाली मेची पदयात्राको उद्घाटनका लागि पुगेका थिए । कार्यक्रममा एमालेका स्थानीय नेता कार्यकर्ताको भिड छ ।
पदयात्राका क्रममा बैतडीको गोठालापानीमा आज आमसभाको आयोजना गरिएको छ ।
पदयात्राको टोली आज डडेल्धुराको अमरगढीमा बास बस्नेछ । त्यसपछि मंसिर १५ मा डोटीको सिलगढी र मंसिर १६ मा अछामको मंगलसेनमा बास बस्ने कार्यतालिका छ ।

