Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारले ल्याएको बजेट उडन्ते खालको छ : एमाले सांसद लिंथेप



विराटनगर : नेकपा एमाले कोशी प्रदेशसभा सदस्य विदुर कुमार लिंथेपले सरकारले बजेटमा समावेश गरेका कार्यक्रमहरु उडन्ते खालको भएको टिप्पणी गरेका छन् ।

सोमबार अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न सदनमा प्रस्तुत भएको विनियोजन विधेयकमाथि छलफल गर्ने क्रममा सांसद लिंथेपले आफूहरुले बजेट सकारात्मक ढंगले आउला भन्ने आशा गरेपनि कार्यक्रमहरु अलि उडन्ते खालको हुन पुगेको टिप्पणी गरे ।

‘बजेटको उद्देश्य के हो ? बजेटले भौतिक निर्माणको सन्दर्भका यो प्रदेशको यति जनसंख्याले उपभोग गर्न सक्ने आँकडा दिन सक्नुपर्छ । बजेटले धेरै घरहरुमा शौचालय छैन, तर खुला दिशामुक्त प्रदेश बनाउन दिशानिर्देश गरेको छैन,’ उनले भने, ‘फुसको छानामा जनता बसेका छन् । फुसको छाना बिस्थापित गर्ने भन्ने उल्लेख छैन । विद्यालय जानबाट बञ्चित विद्यार्थीबारे बोलेका छैन ।’

सरकारले भूगोल र जनसंख्यालाई आधार मानेर बजेट ल्याउनुपर्नेमा पहुँचको भरमा बजेट छुट्याएको उनले बताए ।

‘बजेटको उद्देश्य अन्यौलग्रस्त छ । यो बजेटले कति जनतालाई लाभान्वित गर्छ भन्ने कुराको आँकलन छैन’ उनले भने, ‘मुख्यमन्त्रीको क्षेत्रमा ३३ करोड राखिएको छ । यसले सन्तुलित विकासको नारालाई कसरी अगाडि बढाउन सकिन्छ ?’

उनले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने सरकारले घोषणा गरेको विषयमा व्यंग्य गर्दै प्रतिबालबालिका ३६ रुपैयाँले वर्षभरी कसरी निःशुल्क उपचार हुन्छ भन्ने प्रश्न गरे । प्रदेशमा १० वर्ष मुनिका ८ लाख ३४ हजार ३१८ जना बालिबालिका रहेकोले उनीहरुको निःशुल्क उपचार गर्न विनियोजन गरिएको ३ करोड बजेट प्रतिबालिका ३५ रुपैयाँ ९६ पैसा पर्ने हिसाब प्रस्तुत गर्दै उनले प्रश्न गरे, ‘यसले निःशुल्क उपचार कसरी सम्भव छ, मुख्यमन्त्रीज्यू ?’

प्रतिक्रिया
सम्बन्धित समाचार