विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट लोककल्याणकारी भएको दाबी गरेका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशको बजेटमा बच्चाहरूको स्वास्थ्य उपचार, किसानहरूलाई राहत दिने कार्यक्रम समेटिएकाले अहिलेको बजेट लोककल्याणकारी भएको बताए ।
उनले भने, ‘पहिला प्रदेशमा बनेको बजेट खाजा खाए जस्तो हुन्थ्यो, अहिलेको बजेट भात खाए जस्तो छ ।’
कार्कीले बजेट विकासका लागि द्रुत गतिमा अगाडि बढ्ने खालको भएको बताए । उनले भने, ‘गाडीमा टिकट काटेर हिँडेँ जस्तो होइन अहिलेको बजेटे प्लेन चढेर उडे जस्तो द्रुत गतिमा अघि बढ्ने खालको छ ।’
आर्थिक वर्षको बजेट यसअघिको सरकारले दुई पटक अध्यादेशमार्फत ल्याइसकेकाले अहिलेको सरकारले प्रतिस्थापन विधेयक ल्याएर त्यसलाई पूर्णता दिने प्रयत्न गरेको छ । मुख्यमन्त्री कार्कीले दुई दुई पटक अध्यादेशबाट बजेट आएको र त्यसलाई पूरै परिवर्तन गर्न नसकिने भएकाले केही लोककल्याणकारी कार्यक्रम थपेर बजेट ल्याइएको बताए ।
यसअघि अध्यादेशमा ल्याइएको बजेटभन्दा अहिलेको बजेट ५० करोड बढी छ । यसअघि ३६ अर्ब २४ करोड बजेट प्रस्तुत भएकोमा प्रतिस्थापन विधेयक मार्फत ३६ अर्ब ७४ करोडको बजेट ल्याइएको छ ।
मुख्यमन्त्री कार्कीले एमाले सरकारले ल्याएको बजेटमा थोरै हेरफेर गरेकाले यो बजेटमा एमालेको पनि साथ रहने दाबी गरे । ‘यो बजेट एमालेको नासोको रूपमा आएको हो त्यसैले एमालेको पूर्ण समर्थन रहन्छ,’ उनले भने ।