विराटनगर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धान उत्पादनमा वृद्धि गर्नका लागि उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ बनाएर गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको हो ।
जस अन्तर्गत गाउँपालिकामा ५० मुरीभन्दा बढी धान फलाउने कृषकहरू नगदसहित पुरस्कृत हुनेछन् ।
कार्यविधिअनुसार ५० मुरीदेखि १०० मुरीसम्म धान उत्पादन गर्ने कृषकले ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै एक सय मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकले ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।
गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै मापदण्ड बमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वान गरेको छ । एक साताभित्र आवेदन लिई मापदण्डबमोजिम छनोट भएका कृषकलाई पुरस्कृत गरिने तुम्रोकले जानकारी दिए ।