घाइतेको स्वास्थ्य अवस्था बुझ्दै खेलकुदमन्त्री डिगबहादुर लिम्बू
विराटनगर : मोरङको उर्लाबारी आगलागी घटनामा गरी घाइते भएकामध्ये पाँच जनाको अझै स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका २५ जनामध्ये उपचारका क्रममा यसअघि तीनजनाको मृत्यु भइसकेको छ । बाँकी रहेकामध्ये पाँचजनाको अवस्था गम्भीर छ ।
अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार आईसीयूमा उपचाररत पाँचजनाको अवस्था अझै जटिल रहेको छ । उनीहरूको शरीरको ४० प्रतिशत बढी भाग जलेको छ ।
अन्य घाइतेको अवस्था सुधारोन्मुख रहेको डा. राईले बताए । सबै घाइतेको पहिलो चरणको शल्यक्रिया गरिएको छ ।
गत मंगलबार बिहान उपचारको क्रममा उर्लाबारीका ४३ वर्षीय तपन पण्डित मृत्यु भएको थियो । उनको शरीरको ६० प्रतिशत भागमा जलन भएको थियो । त्यस्तै, उर्लाबारीकै ५० वर्षीय हेमकुमार दाहालको पनि बिहीबार बिहान मृत्यु भएको छ । उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो । अर्का घाइते ५० वर्षीय कुमार तामाङको पनि बिहीबार बिहान मृत्यु भएको छ । तामाङको शरीरको ६५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
गत कार्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चारजना प्रहरीसहित २७ जना घाइते भएका थिए ।