विराटनगर : जिल्ला प्रहरी कार्यालय उदयपुरले कटारी नगरपालिकाका विभिन्न क्षेत्रमा रहेको गाँजा फँडानी गरेको छ । केही दिनयता प्रहरीले कटारीको उत्तरी क्षेत्रमा प्रहरी परिचालन गरी गाँजा फँडानी गरेको हो ।
प्रहरीले बिहीबार कटारी नगरपालिकाको वडा नं ८ र ९ को ववला, भाण्टावारी, सिरवानी, खन्याटार, सिरिसे र गाल्टारमा करिव ३५ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाइएको गाँजा फँडानी गरेको छ ।
प्रहरीको तथ्यांक अनुसार ४६,००० गाँजाको बोट फँडानी गरी नष्ट गरिएको हो ।
यस्तै बुधबार कटारी ८ को खन्याटार र आहालेमा करिव १८ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाईएको १४,००० गाँजाको बोट फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले पालिकाका विभिन्न जंगल र खेतबारीमा रहेको गाँजाखेती फँडानी गरेर नष्ट गरेको छ । स्थानीयले लगाएको पाक्ने बेलाको वयस्क गाँजाका बोट फँडानी गरेर आगो लगाई नष्ट गरेको प्रहरीले जनाएको छ ।
उदयपुर गाँजा खेतीको लागि पकेट क्षेत्रका रूपमा लिइन्छ । प्रहरीले यहाँ हरेक क्षेत्रमा विभिन्न समयमा गाँजा फँडानी गर्दै आएको छ ।
बिकट पहाडी भेग भएकाले रुखो जमिन र सिंचाईबिहीन भएका कारण यहाँका स्थानीयले अन्न उत्पादन नहुने भन्दै स्थानीयले वर्षेनी गाँजा खेती गर्ने गरेका छन् ।
गाँजालाई वैधानिकता दिन बिभिन्न क्षेत्रका विज्ञ र राजनीतिकर्मीहरूबाट माग पनि हुँदै आएको छ । सरकारले यसलाई बैधता नदिएका कारण गाँजा औषधीय गुणले भरिपूर्ण भए पनि नेपालमा अवैध मानिएको छ । जस्तो सुकै रुखो जमिनमा पनि उत्पादन गर्न सकिने र बिक्रीका लागि भारत ठूलो बजार भएकाले किनबेच सहजै हुने गरेकाले यसलाई कानुनी बैधता दिनुपर्ने माग धेरैतिर उठ्दै आएको छ ।