विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठक सुरु भएको छ ।
निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी बैठक सुरु भएको हो ।
कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
गठबन्धनका शीर्ष नेताहरूको निर्णयविरुद्ध विद्रोह गर्दै कार्की एमालेसँग मिलेर कोशीको मुख्यमन्त्री बनेका हुन् ।
उनले मुख्यमन्त्रीको शपथ ग्रहण गरेपछि नेकपा एमालेका राम बहादुर राना र कांग्रेसका शमशेर राईलाई विना विभागीय मन्त्री बनाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीले कार्कीलाई विश्वासको मत दिने तयारी गरेका छन् । प्रदेशमा ६ सिट रहेको राप्रपाले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेर आफूहरू प्रमुख प्रतिपक्षी भएको बताइसकेको छ । जनता समाजवादी पार्टीले पनि कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।