विराटनगर : जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । कार्कीले बुधवार विश्वासको मत लिँदै छन् ।
कार्की नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा शनिवार मुख्यमन्त्री बनेका थिए ।
गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरे पनि गठबन्धन कायम राख्ने केन्द्रको निर्देशन भएका कारण कार्कीलाई विश्वासको मत दिने सम्भावना रहेको जसपाकी सांसद निर्मला लिम्बूले जानकारी दिइन् ।
पूवेलीप्रेससँग उनले भनिन्, ‘माथिबाट नै गठबन्धन कायम राख्ने भनेर कुरा आएको छैन, त्यसैले उहाँ गठबन्धन दलकै सांसद र मुख्यमन्त्री भएकाले विश्वासको मत दिनुपर्छ भन्ने कुरा छ । यसको निर्णय माथिबाटै हुन्छ ।’
यसअघि गठबन्धन दल नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले पनि कार्कीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।