विराटनगर : कोशी प्रदेश सरकारलाई नेकपा एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने भएको छ । प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासको मत लिँदै छन् ।
नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धन कायम राख्न आफूहरूले विश्वासको मत दिन लागेको नेकपा एस कोशी प्रदेश संसदीय दलकी सचेतक विद्या चाम्लिङले जानकारी दिइन् ।
गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेका कार्कीलाई यसअघि नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । सचेतक चाम्लिङका अनुसार यस विषयमा पार्टीले आधिकारिक निर्णय नगरे पनि माथिल्लो कमिटीबाट विश्वासको मत दिने सङ्केत आएको छ ।
उनका अनुसार आज दिउँसो पार्टी संसदीय दलको बैठक बस्दैछ । बैठकबाट थप निर्णय हुनेछ ।
एस समाजवादीले विश्वासको मत दिएर सरकारमा समेत सहभागी हुने बताएको छ । चाम्लिङले भनिन्, ‘हाम्रो गठबन्धन छ, उहाँ (मुख्यमन्त्री केदार कार्की) ले गठबन्धनको निर्णय विपरीत काम गरे पनि प्रदेशमा स्थिरताका लागि हामी विश्वासको मत दिन्छौँ र सरकारमा सहभागी हुने सम्भावना धेरै छ । ।’
शनिवार मुख्यमन्त्री बनेका कार्कीले विद्रोह गरेका कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरिसकेका छन् । उनले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।