विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले सरकारी गाडी फिर्ता गरेका छन् । राईले आइतबार प्रदेशसभा सचिवालयलाई गाडी फिर्ता गरेका हुन् ।
शनिबार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएपछि उनले गाडी फिर्ता गरेका हुन् ।
राईलाई संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएपछि २०७९ माघ ९ गते दलको प्रमुख सचेतकमा नियुक्त गरेका थिए । त्यसको भोलिपल्ट माघ १० गते संसद सचिवालयले राईलाई गाडी उपलब्ध गराएको थियो ।
थापाले गठबन्धनको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै दलका नेताबाट राजीनामा दिएका थिए । गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेपनि कांग्रेससँग विद्रोह गर्दै केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि उनले राजीनामा दिएका हुन् ।
राई खोटाङ प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेस कोशी प्रदेशको महामन्त्रीसमेत रहेका उनी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् ।
केदार कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका छन् । उनले आज शपथ ग्रहण गरे कांग्रेसका शमशेर राई र एमालेका राम राना मगरलाई मन्त्री नियुक्त गरेका छन् ।