विराटनगर : बिहीबार कोशी प्रदेशमा सरकारको दाबी गर्नका लागि काठमाडौँमा केन्द्रित भएका दलका नेताहरू बिहानैदेखि विराटनगर आउन सुरु गरिसकेका थिए ।
नेकपा एमाले ३९ सांसदको हस्ताक्षर बोकेर जसले ८ जनाको हस्ताक्षर ल्याउँछ उसैलाई मुख्यमन्त्री बनाउने तयारीसाथ बसेको थियो । गठबन्धनले केन्द्रमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेसँगै काँग्रेसमा असन्तुष्टिको लहर चलिसकेको थियो ।
लामो समयदेखि मुख्यमन्त्री बन्ने दौडमा रहेका काँग्रेसका सांसद केदार कार्की डा. शेखर कोइरालाको आड भरोसामा मुख्यमन्त्री बन्ने चाँजोपाँजो मिलाउँदै थिए ।
एमालेलाई भने कार्कीले खुट्टा टेक्ने र सांसद सख्या पुर्याउनेमा विश्वास थिएन । जब बिहीबार दिउँसो कार्की ८ जनाको हस्ताक्षर बोकेर आए तब एमालेले ३९ सांसद थपेर प्रदेश प्रमुखकोमा दाबी पेस भयो ।
त्यसअघि इन्द्र आङ्बोले पनि पुरानो हस्ताक्षर बोकेर दाबी पेस गरिसकेका थिए । जब केदार कार्कीले हस्ताक्षर पेस गरे अनि मिडिया र काँग्रेसभित्र ककसले सही गरे भन्ने कौतुहलता जागेको थियो ।
जब नाम सार्वजनिक भयो अनि काँग्रेसलाई पनि तीन जना मान्छे फिर्ता गराउन सकिन्छ र राप्रपाले सहयोग गरेपछि ४७ पुग्छ भन्ने भरोसा लागेको थियो । जब काँग्रेस सांसदहरू हल्लिएनन् । तब भने गठबन्धनका नेताहरू झस्किए । शुक्रवार बिहान राप्रपाले तटस्थ बस्ने निर्णय गरेपछि भने गठबन्धनले हात उठाइसकेको थियो ।
यो परिवेशमा काँग्रेसका ८ जना सांसद कहाँ बसे त ? भन्ने व्यापक खोजतलास भयो । काँग्रेसका एक जना सांसदले भने, ‘बसोबासको सबै व्यवस्था काँग्रेसका सांसद डा. सुनिल शर्माले गरिदिए । बिहीबार दिउँसो काठमाडौँबाट सांसदहरू विराटनगर आएपछि उनीहरूका लागि बस्ने व्यवस्था नोवेलको गेस्ट हाउसमा गरियो ।’
जुन गेस्ट हाउस नोबेल मेडिकल कलेजको पछाडिपट्टि छ । निजी सुरक्षा व्यवस्थासमेत भएको सो गेस्ट हाउसमा ६ जना सांसदलाई राखिएको थियो । बिहीबारै काठमाडौँबाट आएका शर्माले सबै सांसदलाई गोलबद्ध गर्न भूमिका खेले ।
काँग्रेस स्रोतका अनुसार मुख्यमन्त्रीका दाबेदार केदार कार्की मात्रै घरमा बसे भने अर्का सांसद मानबहादुर लिम्बू सुनिल शर्मासँगै बसे ।
नोबेलमा बसेका सांसदहरूलाई ल्याउने, लैजाने र कहीँ जानु परे गाडीको व्यवस्थासमेत गरिएको थियो । शनिवार प्रदेश प्रमुखको कार्यालयमा समेत आकर्षक कालो ड्रेससहित निजी सेक्युरिटी कम्पनीका गार्डहरू उनीहरूलाई लिएर पुगेका थिए ।
एक जना सांसदले भने, ‘पहिला एमालेलाई फुटाउन २०७८ भदौमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोको डिजाइनमा अहिलेका धरानका उपमेयर आइन्द्र विक्रम बेघाको नेतृत्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । त्यति बेला ८ जना सांसदलाई त्यहाँ राखेर गाडी चढाएर कसैलाई भेट्न नदिई निर्वाचन कार्यालयमा पार्टी विभाजनको हस्ताक्षर गर्न लगाइएको थियो ।’ ती सांसदले थपे, ‘जसले हिजो प्रदेशमा डिजाइन सिकायो आज त्यही अर्को डिजाइनको सिकार भयो ।’