माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो
विराटनगर : कोशी प्रदेशको मुख्यमनत्रीमा सत्ता गठबन्धनको तर्फबाट ४७ सांसदसहित दाबी पेस गरेका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पक्ष सनाखतका लागि नजाने भएको छ ।
मुख्यमन्त्रीका लागि केदार कार्की र इन्द्र आङ्बोको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले सनाखत गर्ने निर्णय लिएका थिए । त्यसका लागि अहिले प्रदेश प्रमखुको कार्यालयमा सनाखत भइरहेको छ ।
केदार कार्की पक्षका सांसदहरु बिहानैबाट प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए । अहिले उनीहरुले सनाखत गरिरहेका छन् । कार्कीलाई कांग्रेसका ८ र एमालेका ३९ सांसदले सनाखत गर्ने तयारी छ ।
आङ्बोले भने आफ्नो दाबी नपुग्ने र शीर्ष नेताबिच सहमतिको प्रयास भइरहेको कारण तत्काल सनाखतमा नजाने बताए ।
यस्तै आङ्बोलाई समर्थन गरेका कांग्रेसका केही सांसद सनाखतमा नआउने भएका छन् । स्रोतका अनुसार उनीहरुले आफूहरु सनाखतमा उपस्थित हुन नसक्ने भन्दै दलका नेतालाई जानकारी गराएका छन् ।
कांग्रेस स्रोतका अनुसार आङ्बोको समर्थनमा रहेका ४/५ सांसद काम विषेशले विराटनगर बाहिर छन् ।