बायाँबाट क्रमशः एमाले नेता कार्की, कांग्रेसका थापा र माओवादीका आङ्बो
विराटनगर : कोशी प्रदेशको सरकार बनाउने गठ जोड तीव्र गतिमा चलिरहँदा प्रदेशका नेताहरू सबै काठमाडौँमा केन्द्रित भएका छन् । कोशी प्रदेशको सरकारले विश्वासको मत लिन नसकेपछि अहिले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार बनाउन आह्वान गरेका छन् ।
प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने निक्र्यौल नहुँदा नेताहरू केन्द्रमा नै मुख ताक्नका लागि काठमाडौँ पुगेका हुन् ।
ठुला राजनीतिक दलले प्रदेशमा सरकार बनाउने निर्णय पार्टी कमिटीहरूलाई नदिँदा केन्द्रको निर्णय हाबी हुने गरेकाले उनीहरू प्रदेश छोडेर काठमाडौँ दौडिएका हुन् ।
अहिले मुख्यमन्त्री हिक्मत कार्की, काँग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्रका दलका नेता इन्द्र आङ्बोदेखि एमालेका तिलकुमार मेन्याङ्बो, पाँच कर्ण राई, काँग्रेसका अमृत अर्यालदेखि केदार कार्कीसम्म मुख्यमन्त्री दाबी गर्न काठमाडौँ पुगेका छन् ।
प्रदेशका कामचलाउ मन्त्रीहरू र सबैजसो राजनीतिक दलका सांसदहरू अहिले काठमाडौँमा छन् ।
काँग्रेसका सांसद केदार कार्कीले आफू मुख्यमन्त्रीको लबिङ गर्नका लागि काठमाडौँ पुगेको बताए ।
हालका मुख्यमन्त्री कार्की पनि राजनीतिको गठ जोड मिलाउन काठमाडौँ पुगेका छन् ।
अबको सरकार बनाउँदा जुनसुकै सांसदले पनि ४७ पुर्याएको अवस्थामा दलीय ह्विप नलाग्ने भएपछि धेरैजसो सांसदहरूले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् ।
प्रदेश स्वायत्त हुनुपर्ने माग उठिरहेको बेला प्रदेशमा अधिकार पनि नदिने र पार्टीलाई पनि केन्द्रले निर्देशित गर्ने परिपाटीले प्रदेशको औचित्यमाथि नै कतिपयले प्रश्न उठाइरहेका छन् ।