Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा मुख्यमन्त्रीका आकांक्षी तिलकुमार र पिकेको ओलीसँग भेट



भेटपटि केपी ओलीसँग फोटो खिचाउँदै तिलकुमार मेन्याङ्बो (बायँ) र पाँचकर्ण राई (दायाँ)

विराटनगर : कोशी प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको बेला मुख्यमन्त्री बन्ने आकांक्षा देखाइरहेका एमालेका दुई सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

मंगलबार बिहान प्रदेशका मन्त्रीसमेत रहेका ताप्लेजुङका तिलकुमार मेन्याङ्बो र खोटाङका पाँचकर्ण राईले ओलीसँग भेट गरेका हुन् । मेन्याङ्बो हाल स्वास्थ्य मन्त्री छन् भने राई पयर्टन मन्त्री छन् । तर, प्रदेशको मुख्यमन्त्रीबाट हिक्मत कार्कीले राजीनामा दिएसँगै दुवै जना कामचलाउ अवस्थामा छन् ।

संविधानको धारा १६८ (३) अन्तरगत गठन भएको कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत लिने तयारी गरेको थियो । तर, आफूले विश्वासको मत पाउने आधार नदेखेपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तरगत सरकार गठनको आव्ह्वान गरेका छन् । उनले असोज २६ गते सम्मका लागि सरकार गठन गर्न समय दिएका छन् ।

कार्कीले दुईपटक प्रदेशको मुख्यमन्त्री बन्ने अवसर पाएर पनि विश्वासको मत जुटाउन नसकेका कारण अब नेतृत्वले चाहे आफूहरुको पक्षमा बहुमत पुग्ने दाबीका साथ उनीहरुले ओलीसँग भेट गरेको स्रोतको दाबी छ ।

मेन्याङ्बो निकट स्रोतका अनुसार उनले यसअघि पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा उनले ओली समक्ष कार्कीले विश्वासको मत नपाएर १६८ को ५ मा पुगे आफूलाई एकपटक मौका दिन आग्रह गरेका थिए ।

प्रदेशमा कार्कीपछि तिलकुमार सिनियर नेता हुन् । उनी एमाले पोलिटब्युरो सदस्य समेत हुन् ।

यस्तै खोटाङका पाँचकर्ण राई पनि मुख्यमन्त्रीको लाइनमा छन् । उनी यस अघि संविधान सभा सदस्य भइसकेका छन् भने उनी पनि पोलिटब्युरो सदस्य हुन् ।

प्रदेशमा सरकार गठनको रस्साकस्सी चलिरहेको बेला यी दुई नेताले पार्टी अध्यक्षसँग भेटघाट गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ सीट आवश्यक पर्छ । प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो । उसँग उपसभामखसहित ४० सांसद छन् । प्रदेशमा सत्ता गठबन्धन दलमा रहेको नेपाली कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सीट छ । राप्रपाका ६ सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार