विराटनगर : नेकपा एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकार ढलेको छ । आफ्नो पक्षमा विश्वासको मत जुटाउन नसकेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।
संविधानको धारा १६८ को ३ अन्तर्गतको व्यवस्था अनुरुप संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्की भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । तर, आफूले मत पाउने आधार नदेखेपछि कार्कीले राजीनामा दिएका हुन् ।
कार्की भदौ २२ मा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । यसअघि पनि विश्वासको मत नपाउँदा उनी पदमुक्त भएका थिए ।
कार्कीले आफु मुख्यमन्त्री बनेपछि आठ जनालाई मन्त्री बनाएका थिए । उनले आफूले शपथ ग्रहण गर्ने बेला चार जना र असोज ८ गते बाँकी चार जनालाई मन्त्रिमण्डलमा समावेश गरेका हुन् ।
कार्कीले शपथ ग्रहणको तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई र एकराज कार्कीलाई मन्त्री बनाएका थिए । त्यसबेला सिर्जना राई राज्यमन्त्री बनेकी थिइन् ।
दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दा खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका तिलकुमार मेन्याङ्बोलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो । पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र एकराज कार्की भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए । सिर्जना राई सामाजिक विकास राज्यमन्त्री बनेकी थिइन् ।
कार्कीले असोज ८ गते मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई खानेपानी सिँचाई तथा उर्जामन्त्री नियुक्त गरेका थिए । त्यस्तै सुनसरीका रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री र धनकुटाका निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, उद्योग कृषि तथा सहकारी र सामाजिक मन्त्रालय आफैंसँग राखेका थिए ।
पछिल्लो पटक नियुक्त भएका मन्त्रीहरु १२ दिनमै पदमुक्त भएका छन् । उनीहरुले केही काम गर्न नपाइ मन्त्रीबाट विदा भएका हुन् ।