विराटनगर : सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएकी कोशी प्रदेशकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बूले अझै मन्त्रीनिवास छाडेकी छैनन् । कानुनतः मन्त्री पद गुमेका १५ दिनभित्र अनिवार्य रूपमा मन्त्रीनिवास छाड्नुपर्ने प्रावधान छ । तर, मन्त्री पद गुमेको महिना दिन बितिसक्दा पनि लिम्बूले क्वार्टर छोडेकी छैनन् ।
भदौ २१ गते दोस्रो पटक उद्धव थापालाई सर्वोच्च अदालतले मुख्यमन्त्रीबाट पदमुक्त गरेसँगै लिम्बू पदमुक्त भएकी थिइन् । त्यसपछि भदौ २२ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनेको थियो ।
अदालतको आदेशपछि पदमुक्त भएको र अर्को सरकार बनिसक्दा पनि लिम्बूले पूर्ण रूपमा सरकारी निवास छाडेकी छैनन् ।
प्रदेशमा उनी जनता समाजवादी पार्टी (जसपा) की एक्ली सांसद हुन् ।
स्वास्थ्य मन्त्रालयले उनले बूढीगंगा गाउँपालिकाको हात्तिमुढामा मीठाकुमारी खतिवडाको तीनतले घर २९ हजार रूपैयाँ मासिक बुझाउने गरी पुस मसान्तसम्म सम्झौता गरेको छ । उनी सोही घरमा बस्दै आएकी छन् ।
मन्त्री निवाससँगै लिम्बूले मन्त्री हुँदा आफूले पाएको सुविधासमेत फिर्ता गरेकी छैनन् । प्रदेश सरकारबाट पाएको कार्यालय सहयोगी र पीएसओ पनि लिम्बूसँगै छन् । उनले पीएसो रेनुका सुनाम र सहयोगी राजेश राजवंशीलाई साथमै राखेकी हुन् ।
हिक्मत कार्कीले तीलकुमार मेन्याङ्वोलाई स्वास्थ्यमन्त्री बनाएका छन् । पूर्वखानेपानी तथा सिँचाइमन्त्री समेत रहेका मेन्याङ्वो अहिले पनि सोही मन्त्रालयको क्वाटरमा बस्दै आएका छन् । खानेपानी तथा सिँचाइमन्त्री बुद्धिकुमार राजभण्डारी भने आफैँले लिएको भाडाको घरमा बस्दै आएका छन् ।
पदमुक्त भएसँगै लिम्बूलाई मन्त्रालयका कर्मचारीले क्वाटर खाली गरिदिन पटकपटक आग्रह गरेको भएपनि नछाडेको मन्त्रालयका एक कर्मचारीले बताए ।