Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशको निर्वाचन निष्पक्ष नभएको ओलीको आरोप, निर्वाचन प्रमुख भन्छन्: गलत ब्रिफिङ गरियो 



विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै आरोप लगाएका छन् । प्रदेश कमिटीको शपथ ग्रहण कार्यक्रममा उनले निर्वाचन निष्पक्ष नभएको बताए ।

उनले भने, ‘यस्तो पनि निर्वाचन समिति हुन्छ । अब आइन्दा यस्तो समिति नबनाउनुस् । निर्वाचन समिति न्यायधीश जस्तो हुनुपर्छ । यता पनि नढल्किने उता पनि नढल्किने । ‘

‘यहाँको निर्वाचन नजिकबाट हेरेको छु । सुनेको छु । मान्छेले केके बोले थाहा पाएको छु । यसरी निर्वाचन हुन्छ ? तथापी निर्वाचन सम्पन्न भयो । निर्वाचन समितिलाई धन्यवाद दिन्छु । ‘ओलीले भने, ‘अब आइन्दा निर्वाचन समितिले यस्तो काम नगरोस् र यस्तो समिति पनि नबनोस् ।’

ओलीले एकाएक कोशी प्रदेशको निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएपछि कार्यकर्ताहरुमा खैलाबैला भएको थियो । निर्वाचनका प्रतिनिधिहरुले समेत के भएर निष्पक्ष निर्वाचन भएन भन्ने भेउ समेत पाएनन् ।

धेरै नेताहरुले त्यसको खोजी पनि गरिरहेका छन् ।

प्रदेश कमिटीको निर्वाचनमा केपी ओलीले इच्छाएकै घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन कमिटीका प्रमुख चुडामणी आचार्यले निर्वाचनका गलत नभएको र गलत नियत राखेर कुनै काम नगरिएको बताउँदै नेताहरुले गलत ब्रिफिङ गरेको बताए ।

खासगरेर निर्वाचनको मतपत्रमा निश्चित व्यक्ति तोकेर कोष्ठ बनाइएको र मतपत्र व्यवस्थित नभएको साथै गणनादेखि मतदानको लाइनसम्मको विषयलाई लिएर नेतृत्वलाई सुनाइएको स्रोतले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार