Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशीको अध्यक्षमा निर्वाचित खतिवडा को हुन् ?



विराटनगर : नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट घनश्याम खतिवडा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।

निर्वाचित भएका खतिवडाले ५१२ मत प्राप्त गरेका छन् भने ढकालले ४३० मत ल्याएका छन् । खतिवडा मोरङको लेटाङ र ढकाल विराटनगर निवासी हुन् ।

लामो समयदेखि वामपंथी राजनीतिमा सक्रिय रहेका खतिवडा पार्टी नेतृत्वको सहयोगमा प्रदेश अध्यक्ष बनेका हुन् ।

वि.सं. २०१८ कार्तिक १२ गते ताप्लेजुङमा जन्मिएका खतिवडा ०३३ सालदेखि सक्रिय राजनीतिमा लागेका हुन् । त्यसअघि उनी शिक्षण पेशामा थिए । केराबारीको बुद्ध माविमा शिक्षक भएको बेला मदन भण्डारीसँगको भेट र संगतपछि उनी पूर्णकालीन राजनीतिमा लागेका हुन् ।

त्यसपछि उनी २०३६ साल पार्टीको गाउँ कमिटी सदस्यहुँदै २०४४ सालमा जिल्ला सदस्य बने । २०४२ सालमा जनपक्षीय उम्मेदवार बनेपनि खतिवडा पराजित भएका थिए । पराजित भएसँगै उनी करिब ६ महिना जेलसमेत परेका थिए ।

खतिवडा २०४९ सालमा लेटाङ गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ मा जिल्ला विकास समितिको सभापति बन्नका लागि गाविस सदस्य जितेका खतिवडालाई पार्टी जिविस सभापति भने बनाएन । त्यसबेला केराबारीका खड्ग बस्नेत जिविस सभापति बने ।

२०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका डिगबहादुर लिम्बूसँग पराजित भएका खतिवडाले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने उनै लिम्बूलाई पराजित गरे । फेरि २०७९ को निर्वाचनमा खतिवडा लिम्बूसँग पराजित भए ।

उनी योभन्दा अगाडि एमालेको प्रदेश प्रचार विभाग प्रमुख थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार