विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ ।
एमालेको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई जना चुनावी मैदानमा छन् । मोरङका विनोद ढकाल र घनश्याम खतिवडा अध्यक्षको प्रतिस्पर्धामा छन् ।
ढकाल अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष, मोरङको पार्टी सचिव, दुई पटक जिल्ला अध्यक्ष भएका नेता हुन् । विराटनगर निवासी ढकाल पूर्वमा एमालेका प्रभावशाली नेता मानिन्छन् । उनी हाल एमालेका केन्द्रीय सदस्यसमेत छन् ।
खतिवडा भूमिगत कालदेखि नेकपा एमालेका समर्पित नेता हुन् । उनी मदन भण्डारीको कार्यकर्ताको रुपमा समेत काम गरेका र संघीय सांसद भइसकेका नेता हुन् । मोरङको लेटाङ निवासी खतिवडा पाका र पुराना नेताका रुपमा परिचित छन् । उनी २०७४ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् ।
पार्टीले घोषितरुपमा प्यानल नबनाउन भने पनि नेताहरूको पहलमा प्यानल बनिरहेको छ । आजै नेतृत्वको लागि मतदान हुनुअघि लिस्ट बनाएर मतदातालाई बाँड्न लागिएको छ ।
उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् । उनलाई दुवै समूहले आफ्नो प्यानलमा राखेका छन् ।
ढकाल प्यानलबाट सचिवमा उदयपुरका शैलेस लामा छन् । खतिवडा प्यानलबाट सचिवमा पाँचथरका राजकुमार भण्डारी छन् । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।
दुई उपसचिवका लागि अहिलेसम्म चार जनाले मनोनयन दर्ता गरेका छन् । एमाले उच्च स्रोतका अनुसार संखुवासभाका भविश्वर गुरुङ, मोरङका खेम नेपाली ढकाल प्यानलमा छन् भने खोटाङका देवान राई र झापाकी जलबर्षा राजवंशी खतिवडा प्यानलमा छन् ।