विराटनगर : कोशी प्रदेशको अध्यक्षका लागि मोरङका दुई नेताको भिडन्त हुने भएको छ । प्रदेश राजधानी विराटनगरमा शुक्बारदेखि जारी नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि हुई जनाले उम्मेदवारी दिएका छन् ।
सहमतिमा नेतृत्व चयनका लागि गरिएका प्रयास असफल भएपछि निर्वाचन कार्यक्रम सुरु भएसँगै दुई मोरङका दुई जनाले उम्मेद्वारी दिएका हुन् । जारी मनोनयन दर्तामा अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेद्वारी दिएका छन् ।
यस्तै उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् ।
सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीमो उम्मेदवारी परेको छ । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।
दुई उपसचिवका लागि अहिलेसम्म चार जनाले मनोनयन दर्ता गरेका छन् । संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेद्वारी दर्ता गरेका छन् ।
अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।