विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा सांगठानिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । अधिवेशनको बन्द सत्रमा पार्टी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गरेको साङ्गठानिक प्रतिवेदनको विषयमा छलफल सुरु भएको हो ।
छलफल गर्नका लागि सात वटा समूह बनाइएको छ । ताप्लेजुङ, पाँचथर र इलामलाई समूह (१), झापालाई समूह (२), संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुमको समूह (३), मोरङको समूह (४), सोलुखुम्बु, खोटाङ र ओखलढुंगाको समूह (५), उदयपुर र सुनसरीको (६) तथा जनवर्गीय संगठनहरूको (७) नम्बर समूह निर्माण गरेर छलफल सुरु भएको हो ।
अहिले साङ्गठानिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल चलिरहेको छ । छलफलपछि प्रत्येक समूहबाट प्रस्तुतीकरण गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।
प्रतिवेदनमाथिको समूह छलफल सकेपछि बन्द सत्रले प्रतिवेदन पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने जनाइएको छ ।
अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।
बन्द सत्र सञ्चालन गर्नका लागि एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन भएको छ । महासेठको नेतृत्वमा ११ सदस्यीय अध्यक्षमण्डल गठन भएको हो ।
सदस्यमा एमाले स्थायी कमिटी सदस्यहरु शेरधन राई, हिक्मतकुमार कार्की, अग्नी खरेल, डा. शिवमाया तुम्वाहाम्फे, राजेन्द्र गौतम रहेका छन् । त्यसैगरी भगवती चौधरी, जगदिस कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल अध्यक्षमण्डलको सदस्य छन् ।
एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्धाटन गरेका थिए ।
यो अधिवेशनले प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्ने छ । प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जना मुख्य दाबेदार मानिएका छन् । मोरङका विनोद ढकाल र घनश्याम खतिवडाबीच अध्यक्षमा प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् ।