विराटनगर : नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश प्रसाद ढुंगेल निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धि कृष्णप्रसाद दाहाललाई दुई सय ५७ मतको अन्तरले हराउँदै उनी निर्वाचित भएका छन् ।
गएराती भएको मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६ सय ९६ मत र दाहालले ४ सय ३९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
रामेछापका ढुंगेल पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्व अर्थमन्त्रीसमेत हुन् । दाहाल मकवानपुरका हुन् ।
यस्तै उपाध्यक्षमा ढुंगेल प्यालनका दावा दोर्जे लामा निर्वाचित भएका छन् । उनले ६ सय १५ मत प्राप्त गरेका छन् । उपाध्यक्षको प्रतिस्पर्धामा ईश्वरचन्द्र पोखरेल, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरीसमेत थिए ।
सचिवमा दाहाल प्यानलका नवराज सिलवाल एक मतले विजयी भएका छन् । नेपाल प्रहरीका पूर्वडीआईजीसमेत सिलवालले ५ सय ६८ मत मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी ढुंगेल टिमका हस्त पण्डितले ५ सय ६७ मत प्राप्त गरे ।
यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ मत र भक्त कुमारी लामाले ५३६ मत ल्याएर विजयी भए ।
पहिलो प्रदेश अधिवेशनमा सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्य चयनको पहल भए पनि अन्तिममा शुक्रबार निर्वाचन भएको थियो । मतदानमा ११ सय ३५ मत खसेको थियो ।